नेपालमा आज थपिए १३९ जना कोरोना संक्रमित
काठमाडौँ । नेपालमा आज थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा १६ हजार ३७९ जना रहेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ९५० छ । प्रदेश १ मा १९५, प्रदेश २ मा एक हजार ९११, वागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ७४० सक्रमिय संक्रमितहरु रहेका छन् ।
नेपालमा बितेको २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ रहेको छ ।
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको मन्त्रालयले जनाएको छ रौतहट र कैलाली जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन् भने पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ वटा जिल्ला संक्रमणमुक्त रहेका छन् ।