नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा झापाबाट उम्मेदवारीका लागि डालमिया र घिमिरेको नाम सिफारिस
भद्रपुर । झापा उद्योग वाणिज्य सङ्घले महासङ्घको आसन्न निर्वाचनमा खुलातर्फको केन्द्रीय सदस्य पदको उम्मेदवारीका लागि सङ्घका पूर्व अध्यक्ष उमेश डालमियाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी, महासङ्घको संस्थापक सदस्यको हैसियतले प्राप्त हुने संस्थापकतर्फको केन्द्रीय सदस्य पदका लागि सङ्घका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेलाई पठाउने निर्णय गरेको छ । सङ्घको सभा हलमा अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सम्पन्न नियमित मासिक बैठकमा ती नाम सिफारिस गर्न कार्यसमितिले सर्वसम्मत निर्णय गरेको महासचिव पङ्कज शर्माले जानकारी दिए ।
उद्योग वाणिज्य क्षेत्रमा लामो समयदेखि सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका डालमिया महासङ्घको वर्तमान कार्यसमितिमा केन्द्रीय सदस्यको जिम्मेवारीमै छन् । गत निर्वाचनमा खुलातर्फको केन्द्रीय सदस्य पदमा उनी सर्वाधिक मत ल्याएर विजयी बनेका थिए । केही वर्षअघि झापामा देखिएको मिस म्याच प्रकरणमा पीडित उद्योगी–व्यवसायीको पक्षमा साहसका साथ दर्बिलो रुपमा उभिएका डालमिया पीडित व्यवसायीलाई राहत दिलाउन सफल भएका थिए ।
यस्तै, संस्थापकतर्फको केन्द्रीय सदस्य पदका लागि सिफारिस गरिएका घिमिरे दुई कार्यकाल झापा उद्योग वाणिज्य सङ्घको नेतृत्व सफलतार्पूक निर्वाह गरिसकेका परिश्रमी उद्यमी हुन् । मुलुकमा द्वन्द्व उत्कर्षमा रहेको बेला सङ्घको अध्यक्ष रहेका घिमिरेले झापालाई बन्द मुक्त क्षेत्र बनाउन निकै प्रयास गरेका थिए । दुई कार्यकाल सकेर सङ्घबाट बिदा लिएपछि नेपाल अलैँची व्यवसायी महासङ्घको संस्थापक अध्यक्ष बनेर अलैँची व्यवसायी तथा किसानलाई गोलबद्ध गरी अलैँची क्षेत्रको समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेलेका घिमिरे स्पष्ट र प्रखर वक्ताका रुपमा पनि परिचित छन् ।
बैठकले यही साउन २६ र २७ गतेलाई काठमाडौँमा हुने तय भएको महासङ्घको महाधिवेशनमा प्रतिनिधिका रुपमा अध्यक्ष नवराज पनेरु र विशिष्ट सदस्य अजय साहेवालालाई पठाउने निर्णय पनि गरेको छ । बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएका क्रियाकलाप र लकडाउनका समयमा आफ्ना सदस्य उद्योगी–व्यवसायीका हितका लागि गरिएका प्रयासहरूको समीक्षा पनि गरेको महासचिव शर्माले जानकारी दिए ।