विवादका कारण सेवा सुविधाबाट जनता बञ्चित
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ का लागि बसेको छैटौं गाउँसभामा उत्पन्न विवादका कारण स्थानीय जनता मर्कामा परेका छन् । असार १० गते बसेको गाउँपरिषदमा उत्पन्न विवादका कारण चालु आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट पारित हुन नसक्दा राज्यबाट पाउने सेवा सुविधाबाट जनता बञ्चित भएका हुन् ।
नीति, कार्यक्रम तथा बजेट पारित हुन नसकेपछि गत साउन १ गतेदेखि कार्यालय खुले पनि राजस्व लिने सबै सेवा ठप्प भएका छन् । जसका कारण नागरिकताको सिफारिस, मालपोत, घरबाटो नक्सा पास, चारकिल्ला लगायतका सेवा लिन वडा कार्यालयमा पुगेका सेवाग्राही त्यत्तिकै फर्किनुपरेको छ । विवादका कारण निर्णयमा पुग्न नसकेको गाउँपालिकाको निर्णय प्रमाणिकरणको विषयमा केन्द्रित भएको समस्या समाधान कसरी गर्ने भन्ने समस्या देखिएको छ ।
गाउँसभास्थलमै आफूमाथि अभद्र व्यवहार भएको भन्दै गाउँपालिकाका अध्यक्ष तथा सभाध्यक्ष रविन्द्र लिङ्देन गाउँसभा छोडेर बाहिर निस्किएपछि उपाध्यक्ष गिरीको अध्यक्षतामा बसेको परिषदको निर्णय पुस्तिकामा अध्यक्षको नाम÷पद उल्लेख नगरी, उपाध्यक्ष गिरीले प्रमाणीकरण गरेका छन् । कानुनी प्रावधान अनुसार विनियोजन विधेयक र आर्थिक विधेयक स्थानीय तहका अध्यक्षले मात्रै प्रमाणीकरण गर्ने ब्यवस्था छ । गाउँपरिषदमा देखिएको विवाद समाधानका लागि हल्दिवारीमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले पहल गरेपनि २५ दिन वित्दासम्म अर्थहिन भएका छन् । गाउँपरिषदमा बहुमत रहेको नेकपाले उपाध्यक्षको अध्यक्षतामा सम्पन्न भएको भनिएको निर्णयलाई प्रमाणिकरण गर्न अध्यक्षलाई दवाव दिइरहेका छन् । तर, त्यहाँ अध्यक्षको नाम, पद केही पनि लेखिएको छैन ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले भन्छन्–‘निर्णय गरेको कुरा छोड्न पाइदैन, परिवर्तन गर्न पाइदैन, जे छ त्यसैलाई प्रमाणिकरण गर्नुपर्छ भन्छन्–बैठक पुस्तिकमा अध्यक्षको नाम पद केही पनि छैन त्यस्तो निर्णयमा मैले कहाँ, कसरी प्रमाणित गर्ने ? उनी भन्छन्–‘वैधानिक तरिकाले गरेको हो भने आधार पु¥याएर सभाका सदस्य सचिव समेत रहेका प्रमुख प्रशासकीय अधिकृतले सिफारिस गर्नुपर्ने हो, तर अहिलेसम्म म समक्ष आएको छैन ।’ अध्यक्षले प्रमाणित गरेन भन्छन्, तर कसरी गर्ने ? आफू सहमतिकै पक्षमा रहेको बताउँदै अध्यक्ष लिङदेनले भने–‘अनिर्णयको बन्दी बनाएर सँधैभरी राख्न सकिंदैन, निकास उहाँहरुले दिने हो, सच्याएर ल्याए तुरुन्तै निकास दिन म तयार छु ।’
हल्दिबारी गाउँपालिकाभित्र रहेको चारकोषे जंगलमा निर्माणाधीन बाटोको नाम राख्ने विषयमा विवाद उत्पन्न भएपछि अध्यक्ष गाउँसभा स्थगित गरेर बाहिरिएका थिए । त्यसलगत्तै उपाध्यक्ष डम्बर गिरीले गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम बहुमतका बलमा पारित गरेका थिए ।