अभियानबाट रु एक करोड २० लाख सङ्कलन भयो
भद्रपुर । झापामा सामूहिक सहयोगमा उदाहरणीय कर्म गर्न ‘एकका लागि एक अभियान’ प्रारम्भ भयो । उत्साही युवा तथा अग्रजहरुको साथ र सहयोगमा महामारीको रूप लिएको कोरोना भाइरसका कारण उत्पन्न पीडामा मलम लगाउने योजना बन्योे । महामारीको रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले विपन्न वर्गको चुलो बल्न छाडेपछि अभियानअन्तर्गत एक जनाले एक जनाको चुलो बाल्ने योजनाअनुसार सहयोग सङ्कलन गर्न थालियो । अभियानको यो यात्रामा ऊर्जाशील युवा विभिन्न सङ्घसंस्था र तिनका प्रतिनिधि समाहित भए ।
अभियान अन्तर्गत पहिलो चरणमा सडकमा अलपत्र परेकाहरुलाई खाना खुवाउँदै चुलो नबलेकाहरुको पहिचान गरी खाद्य सामग्री वितरण गरियो । झण्डै दुई हजार परिवारलाई रु दुई हजार बराबरको खाद्य सामग्री पु¥याएर सामाजिक कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरेको अभियानले दोस्रो चरणमा क्वारेन्टिनमा बसेकाहरुलाई समेत खाना खुवाएको थियो ।
साथै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अभियानले कोरोना परीक्षणका लागि पिसीआर मेसिन खरिद गर्ने निर्णय गर्दै देश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई जोड्दै रकम सङ्कलन शुरु ग¥यो । अहिले यो अभियानबाट रु एक करोड २० लाख सङ्कलन भएको अभियानका संयोजक महेन्द्र गिरीले बताए । सङ्कलित रकमले कोरोना परीक्षणका लागि पिसीआर मेसिन खरिद गरिने भएको छ । प्रदेश नं १ सरकारको मातहतमा रहने गरी कनकाई नगरपालिकास्थित कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिन लागेको हो । यसअघि जनसहभागिताबाट निर्माण भएको समर्पण कर्मयोग भवनमा ल्याब राख्न आवश्यक तयारी पूरा भएको अभियानका सहसंयोजक विनोद बस्नेतले बताए ।