मेची महाकाली बुहारी संयुक्त आवाजले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझायो
भद्रपुर । झापाको दमक नगरपालिका वडा नं –८ निवासी अनिता राईको पोष्टमार्टम रिपोर्ट १२ घण्टाभित्र सार्वजनिक गर्न माग गर्दै मेची महाकाली बुहारी संयुक्त आवाजले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ । आवाजका झापा अध्यक्ष शिखा खड्का गणेश र सचिव कविता थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापामा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ रानाले महिला हिंसा विरुद्धको आवाजलाई बुलन्द बनाउन आग्रह गर्दै हिंसात्मक घटना न्युनिकरणका लागि आफूहरुले तदारुकतासाथ काम गरिरहेको बताए ।
राईको मृत्यु शंकास्पद रहेको र हत्या नै हुनसक्ने ठहर गर्दै ज्ञापनपत्रमा लामो समयसम्म पोस्ट मार्टम रिपोर्ट सार्वजनिक नहुनु आश्चार्यको विषय भएको उल्लेख गरिएको छ । राईको शव गत असार ८ गते आफू बस्ने कोठाको झ्यालको रडमा झुण्डिएको अवस्थामा फेला परेको थियो । घटना भएको १० दिन वितिसक्दा पनि पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छैन । ज्ञापनपत्रमा घटनाका सम्बन्धमा सुक्ष्म अध्ययन गरी सत्य तत्थ सार्वजनिक गर्नुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याएर अधिकतम कारबाही गर्नुपर्ने माग गरिएको छ ।
लैङ्गिक हिंसाका विरुद्ध विभिन्न गतिविधि सञ्चालन गर्दै आएको मेची–महाकाली बुहारी संयुक्त आवाजमा नेपाल भित्र र बाहिर रहेका १० हजार नेपाली बुहारीहरु आबद्ध छन् । यमु शर्मा सुब्बाको नेतृत्वमा रहेको आवाजको उपाध्यक्षमा चन्द्रा काफ्ले र प्रवक्ता मञ्जु खाँड रहेका छन् । आवाजले हिंसा न्युनिकरणका लागि अनुसन्धान प्रक्रियालाई चुस्त दुरुस्त बनाएर दोषीमाथि अधिकतम कारबाहीका लागि सडक र सामाजिक सञ्जालमार्फत दवाव सिर्जना गर्दै आइरहेको छ ।