महामारीको खराब समय आउनै बाँकी : विश्व स्वास्थ्य संगठन
एजेन्सी
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस महामारीको सबैभन्दा खराबस्वरूप देखिन बाँकी भएको बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधोनम गेब्रियासले यदि संसारभरका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्नसक्ने बताउनुभयो । एक भर्चुअल ब्रिफिङमा टेड्रोसले भन्नुभयो, ‘हामी सबै यो चाँडै नै उन्मूलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारबाहीमा फिर्ता हुन चाहन्छौं, तर तीतो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मूलन हुने यात्रामा निकै टाढा छौं ।’ ‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गति तीव्र भइरहेको उहाँको भनाइ छ । यति धेरै मानवीय र आर्थिक(सामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको डा. टेड्रोसले बताउनुभयो ।
केही देशले नियन्त्रणमा लिएजस्तो देखिए पनि विश्वभर यो समस्या कायमै छ । राष्ट्रिय र विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको छ, त्यसैले खराब समय आउन बाँकी नै छ ।’ यदि विश्वभरका सरकारले महामारी नियन्त्रणका लागि सही नीतिहरू पालना गरेनन् भने यसले अरू धेरै मानिसलाई संक्रमित बनाउन सक्ने उहाँले बताउनुभयो । महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले आग्रह गर्नुभयो ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट १ करोड ४ लाख बढी संक्रमित भएका छन् भने ५ लाख ८ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।