नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाण्डौ । नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो । उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेता र कार्यकर्ताको संलग्नता रहेरनरहेकोबारे आजको स्थायी कमिटीमा छलफल भएको पत्रकारहरूलाई बताए । ‘नयाँ पार्टी नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको छ । यसमा हाम्रो पार्टीको नेता कार्यकर्ताको संलग्न छ कि छैन भनेर छलफल भयो,’ प्रवक्ता श्रेष्ठले भने ।

आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो ? भनि प्रश्न गरेका थिए । जवाफका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए । ‘गोपाल किराँतीका माओवादी केन्द्र दर्ता छ त । मैले त यो कसले किन दर्ता गर्यो भनेर तपाईंलाई सोधेको छैन’, प्रधानमन्त्रीलाई उदृत गर्दै स्रोतले भन्यो ।