नेपालमा आज ५५४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन ५५४ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । जसमा ४३४ जना पुरुष रहेका छन् भने १२० जना महिला रहेका छन् । कुल कोरोना संक्रमितको सख्यां मध्ये दश हजार ९४० पुरुष रहेका छन् भने एक हजार ३६९ महिला रहेका छन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमित भई आइसोलेसन बस्नेको संख्या नौ हजार चार सय ४७ छ । त्यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या घटेर ६५ हजार सात सय १२ मा झरेको छ । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा ११८ जना पुरुष छन् भने १८जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म दुई हजार ८३४ पुगेको छ । जसमा दुई हजार ५९२ जना पुरुष छन् भने २४२ जना महिला रहेका छन् ।

यसैबीच कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । शनिबार बिहान भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै स‌क्रमणबाट मृत्यु हुनेको गौतमले जानकारी दिए ।

नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।