शुक्रबार ६७१ जना कोरोना संक्रमित भेटिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६७१ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५९१ जना पुरुष र ८० जना महिला रहेका छन् । मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या ११ सय ८६ पुगेको छ । जसमा ११४ जना महिला र १०७२ रहेका छन् । हालसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ र पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३२ जनाको परीक्षण भएको छ ।
देशभरीका क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन् । यस्तै ६ हजार ६ सय ४८ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म १ हजार १ सय ८६ जना संक्रमति उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।