मेची अस्पतालको विकासमा प्रदेश सरकारको समेत बेवास्त

झापा । प्रदेश १ को एक मात्र प्रादेशिक अस्पताल भनेर प्रचार गरिएको भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई प्रदेश सरकारले यस आर्थिक वर्षमा वजेट विनियोजन गर्दा समेत बेवास्ता गरेको पाइएको छ ।

पुराना उपकरण, जीर्ण भवन तथा पर्याप्त विशेषज्ञ सेवा दिन नसकिरहेको अस्पतालको विकासका लागि प्रदेश सरकारले वजेट मार्फत सुधार गर्ने गरी जनचाहना अनुसार सम्बोधन हुने कार्यक्रम नल्याएको पाइएको हो ।

झापा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य बसन्तकुमार बानियाले अञ्चल अस्पतालको उन्नतिका लागि आवश्यक वजेट विनियोजन नगरी प्रदेश सरकारले घटुवा गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सांसद बानियाले मेची अञ्चलकै ठूलो अस्पताल भएका कारण विरामीको चाँप रहने हुँदा पुर्वाधार, प्रविधि लगायत आवश्यकीय विकासका लागि वजेट नआएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेकपाबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका बानियाको क्षेत्रमा पर्ने किच्चकबध, कचनकवल जस्ता धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासका लागि समेत प्रदेश सरकारले चासो दिएर वजेट विनियोजन गरेको छैन । विकास निर्माणका दृष्टिले पछाडि परेको झापा क्षेत्र नम्वर ३ राज्यको उपेक्षामा पर्ने गरेको छ ।

यसैबीच संघीय सरकार मातहतमा रहेको मेची अञ्चल अस्पतालको व्यवस्थापकीय जिम्मेवारी प्रदेश सरकारमा सरेपछि अस्पतालको स्तरउन्नतिका कार्यहरू बन्द भएको अवस्था छ ।

संघीय सरकारको व्यवस्थापनबाट प्रदेश सरकारमा हस्तान्तरण भएको अस्पताल सञ्चालनको जिम्मेवारी पाएको विकास समितिले चासोका साथ अस्पताल भित्र आवश्यकीय उपकरण तथा प्रविधिको प्रबन्ध गर्न नसक्दा उपचार सेवा लिने सेवाग्राहीको आकर्षण घट्दै गएको छ ।

अस्पतालका अधिकाम्स विशेषज्ञ डाक्टर तथा प्राविधिक कर्मचारी निजी क्लिनिक केन्द्रीत भएको दुखेसो सेवाग्राहीले गर्ने गरेका छन् । अस्पताल भवनमा रात बिताउनु पर्ने विरामी जीर्ण भवनको संम्रचना देखेर असुरक्षा महसुस गरिरहेका छन् । पछिल्लो समय कोरोना अस्पताल थपिने हल्लाले अस्पतालमा सेवा लिन नआए हुने भो भन्ने मानसिकतामा पुगिसकेका सर्वसाधरणको विश्वास जितेर अस्पतालको सेवा प्रवाहमा आकर्षण बढाउन विकास समिति चुकिरहेको छ ।