सशस्त्र प्रहरीद्वारा झापामा साढे ४ लाखको सामान बरामद

भद्रपुर  । कोभिड १९ को इपिसेन्टर बनेको झापाको दक्षिणी क्षेत्र कचनकवलमा तस्करी तीव्र गतिमा भइरहेको पुष्टि भएको छ ।

गएराति सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका इन्सपेक्टरको नेतृत्वमा गएको टोलीले सो क्षेत्रका विभिन्न नाकाबाट सामान बरामद गरेपछि तस्करी तीव्र गतिमा हुने गरेको पुष्टि भएको हो ।

भारतबाट लुकाइ छिपाइ ल्याएर चिया वगानमा घासले छोपेर राखेको अवस्थामा सामान बरामद गरिएको शसस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

टोलीले खाने तेल, सुर्तीजन्य पदार्थ रसायनिक मल लगायतका सामान बरामद गरिएको केचनाका इन्सपेक्टर लोकबहादुर तामाङले जानकारी दिए । सीमा क्षेत्रमा डिउटी भएपनि तस्करले मौका छोपेर अवैध रुपमा सामान नेपाल भित्र्याउदै गरेको जनगुनासो आएपछि दुइतिन दिनको प्रयासमा मध्यराति विभिन्न प्रकारका सामान फेला पारिएको उनले जानकारी दिए । केचनाकाबाट मात्र अनुमानित ५० हजार मूल्य बराबरको सामान बरामद गरिएको उनले जानकारी दिए ।

त्यसैगरी दुइदिन यता केचना लगायत अन्य नाकाबाट ४ लाख ४३ हजार ९सय रुपैयाँ मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको गण २ झापाका डिएसपी तथा सूचना अधिकारी द्रोर्णबिक्रम शाहले बताए । मातहतमा रहेका टागनडुब्बा, भागडुब्बा र काँकडभिट्टा नाकाबाट विभिन्न प्रकारका औषधि,खाने तेल,मोटरपार्टस,सुर्ती, मोवाइल र विआर ३७ एच ९४७४ नम्बरको एक थान भारतीय मोटरसाइकल समेत बरामद गरिएको उनले जानकारी दिए । सामानलाइ सोमबार मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको उनले जनाए ।