झापामा कोरोना संक्रमितको संख्या १४७ पुग्यो

भद्रपुर । झापाका आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये गौरीगञ्ज गाउँपालिकाका ७ र हल्दिबारी गाउँपालिकाका २ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य अस्पताल विराटनगरमा गरिएको परिक्षण गौरीगञ्जका ६ जनामा र कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा गौरीगञ्जका १ र हल्दिबारीका २ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । त्यससँगै हल्दिबारीको क्वारेन्टाइनमा बसेका पाँचथरका एक २३ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

हल्दिबारीमा पहिलोपल्ट कोरोना संक्रमण देखिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार भारतको आसाम र दिल्लीबाट आएकाहरुमा कोरोना देखिएको हो । हल्दिबारी क्वारेन्टाइनमा बसेका २८ जनाको स्वाब पिसिआर परीक्षणका लागि पठाइएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । आज थपिएका ९ जनासहित जिल्लामा संक्रमित पुष्टि भएको संख्या १४७ पुगेको छ । यसमा पाँचथरका एक संक्रमित समेत समावेस छन् ।