दमकमा महिलाका लागि छुट्टै क्वारेन्टाइन

दमक । झापाको दमक नगरपालिकामा होल्डिङ स्टेशनसहित तीनवटा क्‍वारेन्टाइन सञ्चालनमा छन् । तीमध्ये एउटामा महिला मात्र छन् । दाहाल प्रतिष्ठान, मिष्ट कलेज र मदन भण्डारी स्मृति प्रतिष्ठानको कलेजलाई क्‍वारेन्टाइन बनाएको नगरपालिकाले महिला र पुरुष एकै स्थानमा राख्दा समस्या हुने भन्दै अलग्गै व्यवस्था गरेको हो ।

महिलाका लागि व्यवस्था गरिएका क्‍वारेन्टाइनमध्ये पनि दमकका बासिन्दा र बाहिरका महिलाका लागि पनि अलग अलग व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीका अनुसार तीन ओटा क्‍वारेन्टाइनमध्ये मिष्ट कलेजलाई होल्डिङ स्टेशनका रुपमा उपयोग गरिएको छ । सो स्थानमा पुरुषहरुलाई मात्र राखिएको छ । स्थानीय र अन्यत्रका पुरुषलाई पनि अलग अलग राख्ने व्यवस्था अनुसार दमक भित्रका पुरुषहरुलाई दाहाल प्रतिष्ठानमा राखिएको छ ।

महिलाहरु मात्र राखिने मदन भण्डारी स्मृति प्रतिष्ठानको क्‍वारेन्टाइनमा पनि दमकका स्थानीय र अन्यत्रका महिलाहरुलाई भेट हुन नपाउने गरी अलग्गै राखिएको छ । कलेजको माथिल्लो तलामा दमकका मात्र महिलाहरु राखिएको छ । महिला मात्र राखिएको क्‍वारेन्टाइनमा महिलाहरुको सहजताका लागि सरसफाईका सामाग्री तथा सेनीटरी प्याडको समेत व्यवस्था गरिएको छ । क्‍वारेन्टाइनमा नै रहेको समयमा समेत महिलामाथि विभेद तथा हिंसा हुन सक्ने भएकाले त्यस्तो अवस्था आउन नदिन उनीहरुका लागि अलग्गै बस्ने व्यवस्था मिलाइएको जनाईएको छ । शुरुमा महिला र पुरुषलाई एउटै क्‍वारेन्टाइनमा राख्ने गरिएको भए पनि भारतबाट नेपालीहरु भित्र्याउने क्रम शुरु भएसँगै अलग अलग क्‍वारेन्टाइन सञ्चालन गरिएको हो ।