कचनकवलमा १० सहित झापामा १२ जना थपिए कोरोना संक्रमित
झापा । झापामा १२ जनामा कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् । शुक्रवार संक्रमण पुष्टि हुनेमा कचनकवलमा १० जना, गौरादह १ जना र गौरीगञ्ज १ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धरान र विराटनगरमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा सबै भन्द बढी संक्रमित कचनकवल गाउँपालिकामा रहेका छन् । योसँगै गाउँपालिकामा अहिलेसम्म ११३ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।
पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेमा कोसी अस्पताल विराटनगरबाट २७ छन् । उनीहरु धनकुटा, खोटाङ, उदयपुर, मोरङ, सप्तरी, सुनसरी र झापाका हुन् ।