क्वारिन्टिन व्यवस्थापनमा चरम लापरवाही गर्दै नगर प्रशासन : संक्रमण जोखिम बढ्दो
झापा । भद्रपुर नगर प्रशासन क्वारिन्टिन व्यवस्थापनमा चरम लापहवाहीको गर्ने क्रममा रहेको छ ।
नगर प्रशासनको लापरवाहीको पछिल्लो नमूना क्वारिन्टिनमा रहेका व्यक्तिको रिर्पोट आउनु अगाडि बिहिबार तीन जना संक्रमितलाई घरपठाइएको घटनाले प्रष्ट पार्छ । स्वास्थ्य शाखाका कर्मचारी तथा नगर प्रमुखको आदेश भन्दै रिपोर्ट आउनु अघि नै घर पठाइएका तीन जनामा कोरोना संक्रण पुष्टि भएको रिर्पोट आएपछि घरबाट फर्किनु परेको छ । यस प्रकरणले नगरबासीमा कोरोना संक्रमण त्रास बढाइ दिएको छ ।
भद्रपुर १० स्थित कलबलगुडीको क्वारिन्टिनमा बसेका ९ जनाको समूह मध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सुरूमा छ जनाको नेगेटिभ रिपोर्ट पठाएको थियो ।
तर, नगरपालिकाको स्वास्थ्य शाखाले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै नौ जनालाई घर पठाएको थियो । नगरपालिकाले क्वारिन्टिनमा राख्न ल्याउने र संक्रमित बोक्ने गाडीबाट घर घर लगिएको थियो । नेगेटिभ आएका ६ जना, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, चालक र सहचालकसँगै तीन जना संक्रमित एउटै गाडी चढेर घर गएका थिए ।
नेपाली सेनाको निगरानीमा रहेको क्वारिन्टिनमा नगरप्रमुख श्रेष्ठले सबैको नेगेटिभ रिपोर्टको आएको भनेपछि सबैलाई छाडिएको बताइएको छ ।
सुरक्षा श्रोत अनुसार जेठ ६ गते अगाडिसम्म सो क्वारिन्टिन व्यवस्थित र सुरक्षित थियो तर नगर प्रशासन हावी हुने क्रम बढेसँगै संक्रमितको संख्या पनि बढ्दै गएको हो । पछिल्ला केही हप्तायता क्वारिन्टिनमा बसेका व्यक्तिको स्वास्थ्य परीक्षण विवरण सुरक्षा संयन्त्रले सिधै थाहा पाउन सकेको छैन । त्यहाँ बस्नेहरूले आफ्नो कोरोना परीक्षण रिर्पोट नेगेटिभ आयो भने अब घर जाने हो भन्दै सुनाउने गरेका छन् भने पोजेटिभ आउँदा सुनाउने गरेका छैनन् ।
यस्तै क्वारिन्टिनमा ल्याइने व्यक्ति र त्यहाँबाट लैजाने व्यक्तिको समयमै जानकारी दिन नसकेको नगर प्रशासनको हस्तक्षेपकारी कार्य प्रति सुरक्षा संयन्त्रले असन्तुष्टि जनाउने गरेको छ । नगर प्रशासनको गैर जिम्मेवारीले गर्दा क्वारिन्टिनको न्युनतम सरसफाइमा समेत व्यवस्थापन पक्ष चुक्ने अवस्था आएको छ ।