डिभिजन वन कार्यालय झापाले यस वर्ष झापाका ५ स्थानबाट बिरूवा बाँड्ने
भद्रपुर । डिभिजन वन कार्यालय झापाले यस वर्ष झापाका ५ स्थानबाट हरियाली बचाउ तथा वन बढाउ अभियान अन्र्तगत चार लाख दुई हजार बिरूवा वितरण गर्ने भएको छ ।
११.२४ हेक्टर क्षेत्र मात्र वन रहेको झापामा निजी वन विस्तार मार्फत पर्यावरण संरक्षणमा वन बढाऊ अभियानका लागि झापाका झिलझिले, सुरूङ्गा, चन्द्रगढी, बहुवन र जलथल गरी ५ स्थानबाट बिरूवा वितरण गर्ने भएको हो ।
कार्यालयले विभिन्न जातका डाले घाँस, काठका बिरूवा र फलफूलका गरी ४ लाख २ हजार बिरूवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिएका छन् । प्रमुख घिमिरेका अनुसार आवश्यकता र जमीनको अवस्था हेरेर न्युनतम ५ वटा देखि २५० सम्म बिरूवा प्रदान गरिने छ । ५ वटासम्म बिरूवा दिने व्यक्तिले सामान्य निवेदन दिए पुग्छ भने सो भन्दा बढी बिरूवा लिन चाहने व्यक्तिले बिरूवा रोप्न चाहेको जग्गाको धनीपूर्जाको फोटोकपिसित निवेदन, कम्तीमा वडा कार्यालयको सिफारिस लिएर आउनु पर्ने छ । निजी वन लगाउन चाहने व्यक्ति लक्ष्यित अभियान रहेको भन्दै प्रमुख घिमिरेले झापामा वन क्षेत्र बढाउन प्रदेश सरकार तथा संघीय सरकारको सहकार्य रहेको जनाएका छन् ।
यस वर्ष संघीय सरकार अन्तर्गत दुई लाख ३० हजार र प्रदेश सरकारबाट एक लाख ५० हजार वन बिरुवा वितरण गर्न लागिएको छ । त्यस्तै संघीय सरकार अन्तर्गत १५ हजार र प्रदेश सरकारबाट सात हजार गरी २२ हजार फलफूलको बिरुवासमेत वितरण गरिने प्रमुख घिमिरेले जानकारी दिएका छन् ।
टिक, मसला, खमारी, मलेशियन साल, मगोहिनी, खयर, नेमारो, शिरीष, कदमलगायतका बिरुवा वितरण गरिने छ । स्थानीय माटो सुहाउदा जातका बोटबिरुवा वितरण गर्ने सोच अनुरूप वन पैदावारको उत्पादन र स्थानीय जातका बोटविरुवाको पनि संरक्षण गर्न कार्यालय लागि परेको जनाइएको छ ।
कार्यालयले पहिलो चरणमा गत वर्षकै उत्पादन ७५ हजार बिरुवा वितरण गर्ने तयारी थालेको छ । कार्यालय मातहतका सुरुङ्गा, भद्रपुर, पाठामारीलगायतका स्थानमा रहेका नर्सरीमा रहेका बिरुवा वितरणको तयारी गरेको हो । फलफूलका बिरुवा बोलपत्रमार्फत खरिद गर्ने गरी प्रक्रिया पूरा गरिसकेको छ । बोलपत्र स्वीकृत भइसकेकाले छिटै ती बिरूवा कार्यालयमा आइ पुग्ने छन् र वितरण हुने छ ।
कार्यालयले यस वर्ष २० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने लक्ष्य राखेको छ । त्यस्तै नदी उकास क्षेत्रको २० हेक्टर क्षेत्रफलमा बिरुवा छरिने समेत कार्यालयलको उद्देश्य छ ।