चुरोटको मूल्य बढाएर बिक्री गर्ने पसल कारवाहीमा
झापा । बन्दाबन्दीको बाहना बनाएर कालाबजारी गर्ने विर्तामोडको एउटा पसल कारवाहीमा परेको छ ।
वजार अनुगमनका क्रममा अस्वभाविक मूल्य बढाएर बिक्री गर्ने विर्तामोड ५ को पशुपति ट्रेडिङ सेन्टरलाई झापा प्रशासनले कारवाही गरेको हो ।
बिर्तामोड–५ स्थित हिकोला रोडमा रहेको पशुपती ट्रेडिङ सेन्टरले सुर्तीजन्य पदार्थको बिक्रीमा अत्याधिक मूल्य असुलेको पाइएपछि जिल्ला प्रशासन र घरेलु कार्यालय झापाको अनुगमन टोलीले पसल सिल गरेको हो ।
स्थानीय उपभोक्ताबाट प्रति बन्डल २ हजार ४ सय ९५ रुपैयाँ पर्ने सूर्य चुरोटलाई २ हजार ७ सय र १ हजार ७ सय ५० पर्ने खुकुरी चुरोटलाई २ हजार १ सय रुपैयाँ असुलेको पाइएपछि उपभोक्ताले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गरेका थिए ।
अनुगमनका क्रममा टोलीले चुरोटको मूल्य बढी असुलेको पाइएको छ । त्यस्तै, खरिदकर्तालाई बील समेत नदिने गरेको भेटिएको छ । साथै प्रतिबन्धित भारतीय रजनीगन्धा ठूलो परिमाणमा फेला परेपछि आवश्यक कारवाही प्रक्रियाका लागि तत्काल पसल शिल गरिएको घरेलु कार्यालय झापाका निमिक्त प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।