झापामा ५ जना कोरोना संक्रमित थपिए
झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको बुद्धआदर्श माविमा रहेको क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमा १ जना बुद्धशान्ति गाउँपालिका, ३ जना ताप्लेजुङ र १ जना पाँचथरका रहेको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख भोला अधिकारीले बताउनु भयो ।
यो क्वारेन्टाइनमा भारतबाट आएकाको संख्या बढी छ । आफ्नै गाउँपालिका क्षेत्र र पहाडी जिल्लाका मानिसहरूलाई समेत यहाँ राखिएको छ।
क्वारेन्टाइनमा रहेका १०० जनाको पिसिआरका लागी नमुना पठाइएको थियो । जसमा ७९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
यसै बीच कोरोना भाइरस संक्रमण भइ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका झापो कचनकवलका १७ जना निको भएर घर फर्किएका छन् ।
अस्पतालबाट डिस्र्चाज हुनेहरुमा १७ जना पुरुष झापाको कचनकवल गाँउपालिकाका रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरेर घर पठाइएको प्रवक्ता डा. सापकोटाले प्रष्ट पारेका छन् ।