झापामा थपिए चार जना सङ्क्रमित
योसँगै झापाका संक्रमितको संख्या १११ पुग्यो ।
भद्रपुर । आज आइतबार गौरीगञ्ज गाउँपालिकामा चार जनामा कोरोना सङ्क्रमित पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या एक सय एघार पुगेको छ । अव झापाका १५ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा संक्रमण फैलियो ।
कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको रिपोर्टमा गौरीगञ्जका क्वारेन्टाइनमा बसेका चार जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार गौरीगञ्ज गाउँपालिका ६ नम्बर वडा बस्ने २३, ३७ र ३९ वर्षीय पुरुष र वडा नम्बर ५ बस्ने १८ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । भारतको मुम्बई तथा गुजरातबाट उनीहरू जेठ १५ गते स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका उनीहरूलाई सोजै गाउँपालिकाले स्थापना गरेको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा लगेर राखिएको थियो । उनीहरूको स्वाब त्यहीबाट सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा संक्रमण भेटिएको हो । उनीहरूलाई उपचारका लागि धरान वा विराटनगर कहाँ पठाउने भनी छलफल भइरहेको छ ।
यस अघि झापामा सवै भन्दा बढी कचनकवलमा एक सय, बाह्रदशी र गौरदाहमा दुई दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक एक जना सङ्क्रमित थपिएका थिए । दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन् ।
जिल्लामा पछिल्लो पटक भेटिएको सङ्क्रमित भारतसँग जोडिएको स्थानीय तहहरूमा फेला परेकाहुन् । दमक बाहेक ६ वटा स्थानीय तह भारतीय सीमा नाकासँग जोडिएको छ । त्यहाँ आउने सबै भारतबाट आएका व्यक्ति हुन् । दमकमा मात्र दुबईबाट आएका एक पुरुषबाट उनका बुबामा कोरोना पोजेटिभ सरेको थियो । झापामा पुष्टि भएका सङ्क्रमित प्रदेश १ कै सबै भन्दा बढी छ ।