लकडाउन तोड्नु हुन्न भनेर मृत्युशैयामा रहेकी आमालाई भेट्न गएनन् प्रधानमन्त्री
एजेन्सी
नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटेले अन्तिम सास फेर्न लागेकी आफ्नी आमालाई पनि भेट्न पाएका छैनन । देशभरि कोरोनाभाइरसको संक्रमण कम गर्न लकडाउन गरिएका कारण प्रधानमन्त्री रुटे आफ्नी आमालाई भेट्न नगएका हुन् । उनको कार्यालयले लकडाउन लागु गर्न जारी गरिएको निर्देशिकामा प्रधानमन्त्री बाँधिएकाले उनी आमालाई भेट्न जान नपाएको बताएको छ । प्रधानमन्त्री रुटले सोमबार आफ्नी ९६ वर्षीय आमाको गत मे १३ मा निधन भएको जानकारी दिएका छन् । उनी हेगस्थित एउटा केयर होममा बस्थिन् । नेदरल्याण्डमा मार्च २० देखि लकडाउन लागू गरिएको थियो । प्रधानमन्त्रीकी रुटेकी आमालाई कोरोनाभाइरसको संक्रमण भने भएको थिएन ।
नेदरल्यान्डमा सोमबारदेखि केयर होममा रहेका आफन्त भेट्न जान पाइने गरी नयाँ नियम ल्याइएको छ । त्यहाँ जुन १५ सम्म लकडाउन लम्ब्याइएको छ । लकडाउनका बाबजुद् नेदरल्यान्डमा ४५ हजार बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने ५ हजार ८ सयले ज्यान गुमाएका छन् ।