भारतमा अलपत्र नेपालीलाई : कोरोना जाँच बिना धमाधम नेपाल भित्राइँदै
अर्जुन कार्की
मेचीनगर । भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकीछिपी आएका सयौँ नेपाली नागरिकहरूलाई कोरोना जाँच बिना धमाधम नेपाल भित्राइँदै छ । पानीट्याङ्कीबाट लुकीछिपी मेची पुल आएका सयौँ नेपाली नागरिकहरूलाई कोरोनाको जाँच बिना स्थानीय र प्रहरीको सहयोगमा गाडीमा हाल्दै सम्बन्धित जिल्ला पठाउन थालिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भारतको सीमा नाकाबाट मेची पुल आएका उनीहरूलाई पोखरा र दोलखा बसमा हालेर पठाउने तयारी गरिएको बताए ।
स्थानीय निजी गाडीहरूले जिल्ला प्रशासन कार्यालयबाट पास लिएर भारतबाट आएका पैसा भएका नेपालीहरूलाई धमाधम लाने तयारी गरेको छ । पैसा नभएका नेपालीहरूलाई काँकडभिट्टा माविको होल्डिङ सेन्टरमा राखिने जनाएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले सामान्य फिवरको चेकजाँच गर्ने तयारी गरेको छ । आरडीटी र पीसीआर टेस्ट नगरी काँकडभिट्टा नाकाबाट मङ्गलवार दिउँसो पोखराका लागि ४० र दोलखाका लागि करिब ७० जना नेपालीहरूलाई बसमा हालेर लाने तयारी गरिएको छ ।