कविता : छिमेक धर्म

घनेन्द्र प्रसाद शर्मा

मुलूक आफ्नु–आफ्नु छ जमीन आफ्नु–आफ्नु छ
उता यता हुने गरी सीमा समेत प्रष्ट छ
प्रसिद्ध–सिद्ध सार्वभौम् ममा पनि निहीत छ
स्वदेश प्रेम उत्तिकै मभित्र ओत–प्रोत छ

लवज् लुगा रहन्–सहन् चलनहरु फरक्–फरक्
स्वजातिपन् जनाउने समाजहरु फरक्–फरक्
तथापि मित्र हौं बुझे समीपका जनाउने
विपत् परे सघाउने सुखी भए रमाउने

छिमेकमा बडप्पना सुहाउँदैन क्यै गरे
छिमेकलाई नहेप्नु है नपिर्नु जे–जसै परे
नगर्नु जाल झेल क्यै आ–आफ्नुमा रमाउनु
विवाद क्यै कतैं परे मिलेर राग् मिटाउनु

नगर्नु लोभ् छिमेकको नमिच्नु साँध्–सीमा सखे !
मिलाप शान्ति मित्रता छिमेक धर्म हो बुझे
त्यता परे सघाउँछु यता परे सघाउनू
कलुष चित्त साथमा लिई यता नआउनू

खुला र पारदर्शिता जमानमा विशुद्धता
जगतभरि प्रसिद्ध हो वढाउने सुहार्दता
छिमेकका परम्परा समानता र स्वच्छता
बनाए हुन्न शत्रुता प्रगाढ हुन्छ मित्रता