एमसीसी घुसाएको भन्दै खनाल र रावलले लेखे प्रधानमन्त्रीलाई पत्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कार्पोरेसन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न बनाएको कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पत्र बुझाएका छन् । खनाल र रावलले ओलीलाई लेखेको पत्रमा एमसीसी सम्झौताका आयोजना जस्केलाबाट अघि बढाउन खोजेको हो वा के हो ? भन्दै जवाफ माग गरेका छन् । यसअघि खनाल नेतृत्वको कार्यदलले एमसीसी सम्झौता संशोधन र परिमार्जन गरेरमात्रै संसदबाट पारित गर्न सुझाव दिएको थियो । तर, आफूहरुले तयार पारेको प्रतिवेदनमाथि पार्टीमा छलफल नै नगरी नीति तथा कार्यक्रममा एमसीसीका योजना किन समेटियो ? भनेर खनाल र रावलले ओलीसँग प्रश्न गरेका छन् ।
गत जेठ २ गते सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमम घुमाउरो ढंगले २११ बुँदामा लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी प्रशासन लाइन आगाडि बढाइने उल्लेख गरिएको थियो । कार्यक्रममा एमसीसीको कुनै नाम नलिएपनि उक्त प्रसारण लाइन एमसीसी अन्र्तगत नै भएको रावलले रातोपाटीसँग दावी गरेका थिए । प्रधानमन्त्री ओलीलाई पत्रमा सुझाव कार्यदलले बुझाएको प्रतिवेदनका ३१ वटा बुँदा पुन स्मरण गर्न पनि दिएको छ । राष्ट्रियता तथा पार्टी निर्णय र पद्दति रक्षाबारे विषय राखिएको उक्त पत्रको बोधार्थ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, केन्द्रीय सचिवालय र स्थायी समितिका सम्पूर्ण सदस्यहरुलाई दिइएको छ ।