काँग्रेसको कटाक्ष : सरकारले अतिक्रमित भूमि कागजको नक्सामा चाहिँ फर्काउछ

काठमाण्डौं । काँग्रेसले सरकारले लोकप्रीयताका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको अतिक्रमित भूमिको नक्सा प्रकाशन गर्ने उल्लेख गरेको भन्दै कटाक्ष गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले सीमा अतिक्रमणको बेलामा नीति तथा कार्यक्रम आएको बताउँदै कटाक्ष गरे–‘नीति तथा कार्यक्रम हेर्दा सरकारले अतिक्रमित भूमि कागजको नक्सामा चाहिँ फर्काउछ जस्तो छ । साँच्चै चाहिँ फर्काउन सक्दैन जस्तो छ । त्यही बाहानामा नीति तथा कार्यक्रमको यो विषयलाई पुछारमा लेखेको छ ।’

६३ पाना लामो यो नीति र कार्यक्रम अघिल्लो वर्ष र यो वर्ष केही उस्तै केही दुरुस्तै रहेको रिजालले बताए । ३ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम बाचन गरिएको भन्दै सरकारले संवेदनहीनतको पराकाष्टा गरेको उनको दावी छ । उनले भने, ‘संसदको सुरक्षा एउटा व्यक्तिको सुरक्षा हैन, एउटा मौरीमा कोरोना फैलियो भने पूरै घारमा फैलिन्छ । घारमा फैलियो भने यो संसद क्वारेन्टाइनमा जानुपर्ने हुन्छ । सरकारको जनताप्रतिको जिम्मेवारी, संसदप्रतिको जिम्मेवारी पूरा गर्ने ठाउँ हो यो । अनि यो ठाउँमा ३ घण्टा बढी बन्द गरेर राख्ने यो भन्दा बढी सरकारको संवेदनहीनता अरु केही हुँदैन ।’ उनले आज बाँच्न गाह्रो भइरहेको बेला सरकारले आगामी ९९ सय सालमा देशलाई समुन्नत बनाउने कुरा गरेको भन्दै सरकार असंवेदनहीन बनेको आरोप लगाए ।

सरकार जनताका काममा लागि भन्दा पनि भष्टाचारमा फसेको उनले बताए । सांसद रिजालले भने, ‘मैले सरकारलाई देखेको छु, घुस रकममा मोलमोलाई गर्नेलाई पन्छाउन नपाउँदै स्वास्थ्य उपकरण खरिदलाई बेहोर्नुपर्छ यो सरकारले । देशको सीमा जानकारी नहुनेले दिएको अन्तर्वार्ताले हैरानीमा पर्नुपर्छ यो सरकार । अनि सीमा अतिक्रमणको जानकारी नदिने बेहोर्नुपर्छ । म भन्छु प्रधानमन्त्रीज्यू अरुलाई दोष दिएर सरकारले उम्किन पाइँदैन, अर्कालाई दोष दिएर उन्मुक्ति पाइँदैन प्रधानमन्त्री, जिम्मेवारीको अन्तिम ठाउँ हो प्रधानमन्त्री । मैले जान्या थिइन्, मैले थाहा पाइनँ भनेर कति दिन उम्किनुहुन्छ एकदुई दिन त उम्किनुहोला तर यो उम्कनेबेला छैन ।’ उनले सरकारले भोलिका लागि के गर्ने भन्दा पनि खाली कागज लिएर आजका लागि के गर्ने भनेर योजना बनाउन आग्रह गरे । उनले विदेशमा रहेका नेपालीलाई कसरी उद्धार गर्ने, कोरोना संक्रमण कसरी रोक्ने, कसरी उपचार गर्ने, राहत कसरी दिने योजना बनाउन आग्रह गरे ।

कोरोनाभाइरसको कारण विश्वमा ३० करोड भन्दा बेरोजगारी बढ्ने अनुमान भइरहेका बेला नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने धेरै बेरोजगार हुने भएकोले सरकारले ध्यान दिन आग्रह गरे । १ सय ४० अर्ब रेमिट्यान्स घट्ने भएकोले विकास बजेट पनि घट्ने भएकोले विकासको योनजा कांग्रेसले जितेको क्षेत्रबाट कटौती नगर्न आग्रह गरे । अर्थमन्त्रीले १ प्रतिशत मानिस गरिबीको रेखामुनी पुग्ने दावी गरेपनि ५ प्रतिशत मानिस गरिबीको रेखामुनी पुग्ने बताउँदै संक्रमण र स्वास्थ्य समस्या बढ्यो भने पन्ध्र बिस लगाएर माथि उकासेका मानिसहरु फेरी गरिबीमा फर्किने बताए ।