अहिलेसम्म कुन प्रदेशमा कति कोरोना परीक्षण
काठमाडौं । शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शनिबार नै कपिलवस्तुका तीन जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै शनिबार नै भएको परीक्षणमा बर्दियाको नार्खुका २८ वर्षीया महिला, सिराहा सखुवाका ३० वर्षीय पुरुष, पर्साको वीरगञ्जका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीया किशोरी र चितवनको गढौलीका २५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
अहिलेसम्म प्रदेश नम्बर २ र ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दुबै प्रदेशमा गरी २ सय १८ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर १ मा ३६ र बागमती प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ । यसैगरी गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३६ जना उपचारपछि घर फर्किएका छन् ।
गत २४ घण्टामा ५ हजार २ सय ४३ जनाको नमुना परीक्षण भएको छ । जसमा पिसिआर विधिबाट २ हजार ५ सय ७९ वटा परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार ६ सय ६४ वटा परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । अहिलेसम्म पिसिआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ वटा परीक्षण भएका छन् । शनिबारसम्म कूल ९२ हजार ४ सय ४० जनाको परीक्षण भएको उनले बताए ।
प्रदेश नम्बर १ मा ९ हजार १ सय ११, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८७, बागमती प्रदेशमा १० हजार ४ सय ५२ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जनाको परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ९०, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १६ हजार ३ सय ६६ जना रहेका छन् । उपत्यकामा ३२ सहित देशभरीका विभिन्न अस्पतालमा ३ सय २० जना उपचाररत रहेका छन् ।