झापाको शिवसतासीले बन्दाबन्दी अझ कडा पार्ने

शिवसताक्षी । कोरोना (कोभिड १९)का संक्रमित नेपालमा बढ्दै जाँदा झापाको शिवसताक्षी नगरले बन्दाबन्दी कार्यान्वयनमा थप कडाइ गर्ने भएको छ ।

बन्दाबन्दीको ५४ औं दिनसम्म आइपुग्दा कोरोना भाइरसका संक्रमितको संख्या २ सय ७६ पुगेपछि नगरले थप सतर्कताका लागि लकडाउनमा कडाइ गर्ने भएको जनाएको हो ।

शुक्रबार सम्पन्न नगर समन्वय समितिको बैठकमा सहभागी अधिकाँसले लकडाउनमा थप कडाइ नगरे भाइरसको जोखिम निम्तिन सक्ने भन्दै शिवसताक्षी नगरका औषधी पसल र कृषिका पसलबाहेक बन्द गर्ने निर्णय भएको छ । नगरका गैर मल, बीउ र औषधी पसल अब खोल्न नपाइने भएको हो । नगरमा यसअघि ४ घन्टा खाद्यान्न लगायत हार्डवेयरका पसल खोल्न व्यवसायीलाई अख्तियारी दिइएको थियो । शुक्रबार राती १२ बजे देखि अर्को निर्णय नभए सम्मका लागि नगर भित्रका पसल बन्द गर्ने, विना पासका सवारी साधन चलाएर लकडाउनको अवज्ञा गर्नेलाई कारबाही गर्ने निर्णय भएको हो ।

यस्तै अति आवश्यक काम बाहेक घर वाहिर निस्किए कारबाही गर्ने नगरका प्रवक्ता नविन ईजमले जानकारी दिए । सर्वसाधरणले अति आवश्यक काम परेर घर बाहिर निस्कनु परे स्थानीय प्रशासनको समन्वय आवश्यक पर्ने निर्णय भएको छ ।

बैठकमा तरकारी पसल पनि बन्द गर्ने निर्णय भएको छ । तरकारी पसलमा न्युनतम व्यक्तिगत दुरी कायम नगरी सर्वसाधरणको भिड देखिन थालेपछि नगरले तरकारी पसल पनि खोल्न बन्देज लगाइएको हो । गृह मन्त्रालयको पास र आवश्यक काजजात भएका ढुवानीका साधनलाई प्रतिवन्ध नलगाइएको प्रवक्ता ईजमले जानकारी दिएका छन् ।

शिवसताक्षी नगरको सताक्षीधाम, दोमुखा जस्ता पर्यटकीय स्थलमा सर्वसाधरणको आवत जावत बढ्न थालेपछि ति क्षेत्रमा पनि कडाई गरिएको छ । पर्यटकीय क्षेत्रमा अनावश्यक भिड नगर्न पालिकाले सर्वसाधरणलाई अनुरोध गरेको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माले नगर समन्वय समितिले गरेको निर्णय अटेर गरेर पसल खोल्ने, लकडाउनको अवज्ञा गर्ने जो कोही पनि कारबाहीको भागिदार बन्ने चेतावनी दिए । उनले भने, ‘पुर्व पश्चिम राजमार्ग र छिमेकी पालिकाको नाकाबाट सर्वसाधरणको आवत जावत बढेको हामीले पाएका छौं । यसले कोरोना भाइरसको जोखिम बढ्ने अनुमान सहजै लगाउन सकिन्छ । त्यसको नियन्त्रण गर्न पालिका भित्रका औषधी पसल र मल बीउ पसल बाहेक सबै बन्द गर्ने निर्णय भएको छ ।’

यसैबीच शिवसताक्षी नगरको कोरोना भाइरस संक्रमण रोकथाम तथा राहत वितरण कोषमा जम्मा भएको ३२ लाख ९३ हजार ५९ रुपैयाँबाट खर्च भएको २४ लाख २८ हजार १ सय ८५ बैठकले अनुमोदन गरेको छ । कोषमा अब ८ लाख ६४ हजार ८ सय ७४ रुपैयाँ मोज्जाद छ । खर्च मध्ये १६ लाख ७७ हजार १ सय ९५ रुपैयाँ खाद्यान्न खरिद भएको प्रवक्ता इजमले जानकारी दिए । नगरले थप राहतका लागि १९ लाख ८८ हजार ९ सय ८७ रुपैयाँको खाद्यन्न खरिद गरेको छ । कोषका कर्मचारी महेश लामिछानेका अनुसार पछिल्लो पटक खरिद गरेको खाद्यान्नको रकम भुक्तानी भएको छैन ।

यस्तै बैठकले क्वारेन्टाइनको क्षमता पनि विस्तार गर्ने निर्णय गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित आदिवासी जनजाती सामुदायीक भवनमा क्वारेन्टाइन विस्तारको पालिकाले तयारी सुरु गरेको छ । यस अघि १८ बेड क्षमताको क्वारेन्टाइन सोहि वडाको झरना प्राथमिक विद्यालयमा स्थापना गरेको थियो । आदिवासी जनजाती सामुदायीक भवनमा कम्तिमा ३० बेड क्षमताको क्वारेन्टाइन निर्माण हुने नगर प्रमुख चन्द्रकुमार सेर्माले बताए ।