सुरक्षाकर्मीलाई गोली चलाउने अधिकार

पर्सा । अस्पतालको आइसोलेसनमा रहेका कोरोनाभाइरस संक्रमित भागेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन पर्सामा सुरक्षा निकायलाई गोलीसमेत चलाउन अधिकार दिइएको छ । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सो अधिकारी दिएको हो ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना कोरोना संक्रमित व्यक्ति शौचालय जाने बहानामा शौचालयको भेन्टिलेसन फोरेर भागेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गराएका छन् ।

अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिालाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र यसको लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै, बैठकले नारायणी अस्पतालमा आइसोलेन बेड थप गर्ने, निषेधाज्ञालाई थप कडाईका साथ लागू गर्ने, सम्पूर्ण पास खारेज गर्ने लगायतका निर्णय पनि गरेको छ ।