हिटलरको आदेश : बाहिर गएका डेरावाललाई घरमा प्रवेश गर्न नदिनु

काठमाडौं । ललितपुर महानगरपालिका वडा नंबर ६ का अध्यक्ष हिटलर शाक्यले कोठा भाडामा बस्नेहरुका लागि कडा शैलीको आदेश जारी गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै ललितपुर वडा नंबर ६ मा काठमाडौं बाहिरबाट कोठा भाडामा बस्नेलाई रोक लगाएका हुन् ।

बिहिबार वडा कार्यालयको तर्फबाट एक सूचना जारी गर्दै आफ्नो वडामा कोठा भाडामा लिई बस्नेलाई लकडाउनको समयमा बाहिरबाट आएमा कोठा प्रवेशमा रोक लगाइएको जनाएका छन् । यस्तै कोठा भाडामा बस्नेहरु घर गएको भए उनीहरुलाई नर्फिकनका लागि फोन गरेर जानकारी गराउन घरधनीहरुलाई आग्रह गरेका छन् । घरधनीहरुले सूचना लुकाई भाडामा बस्नेहरुलाई प्रवेश दिएमा त्यस्ता घरहरुमा ताला लगाई शिल गरिने, क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले बेहोर्नुपर्ने र संक्रमित भएको प्रमाणित भएमा घरधनीले क्षतिपूर्ति तिुर्नपर्ने चेतावनी समेत दिएका छन् । साथै आफ्नो टोलभित्र बाहिरी मानिसहरुको आवतजावत रोक्न र निश्चित समयमा व्यापार गर्न पनि आदेश दिएका छन् ।