सरकारलाई निर्देशन : उपचार तथा स्वास्थ्य सामग्रीको उचित ब्यवस्था गर
कठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएर स्थिति भयाबह बन्ने अवस्था सिर्जना हुन लागेपछि आज प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बसेको छ । सो बैठकमा स्वास्थ्य मन्त्रीलगायत मन्त्रालयका पदाधिकारीसँग छलफल पनि गरेको छ ।
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थाका साथैै कन्ट्याक्ट ट्रेसिङमा जोड दिन निर्देशन दिएको हो ।
समितिले सरकारलाई पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरुको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरुले खानुपर्ने औषधिमा अभाव हुन नदिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले सञ्चारकर्मीलाई बताएकी छिन । उनले सरकारका कमजोरीका कारण सर्वसाधारणलाई कमर्का नपरोस र आवश्यक पर्ने मास्क र सेनिटाइजरको सर्वसुलभ बनाउन पनि समितिले निर्देशन दिएको जनाइएको छ ।
समितिको बैठकपछि सरकारलाई परीक्षणको दायरा तीब्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको समूचित ब्यवस्था गर्न पनिे निर्देशन दिएको जनाइएको छ । समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाई विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।
यस्तै लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको सही तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिको निर्देशन छ । क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्र्मी बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीनवटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रुपमा घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । कोरोना महामारीको असर मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताइन ।