जनकपुरको पिसिआर मेसिनमा कोरोना नेगेटिभ, काठमाडौंमा परीक्षण गर्दा पोजेटिभ

नेहा झा

जनकपुरधाम । केन्द्र सरकारद्वारा उपलब्ध गराइएको जनकपुरधामस्थित दोस्रो पिसिआर मेसिनले समेत गलत रिपोर्ट दिएको पाइएको छ । दोस्रो पटक ल्याइएको मेसिनबाट गत बुधबार मात्रै धनुषाका २१ जना पत्रकार सहित २३ जनाको परीक्षण गरिएको थियो। परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ पाइएको प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले जानकारी दिए । नले भने ‘परीक्षण गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि पत्रकारकै आग्रहमा उक्त स्वाब पुनः परीक्षण का लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइयो र त्यहाँबाट २३ जना मध्ये २ जनाको रिपोर्ट पोजेटिभ आयो ।’ यसअघि पनि सर्लाहीका एक जना किशोरमा कोरोना संक्रमणको लक्षण देखा परे पनि प्रादेशिक अस्पतालमा रहेको पिसिआर मेशिनले रिपोर्ट नेगेटिभ देखाएको थियो । उनको स्वाब पुनः परीक्षणका लागि टेकु पठाएपछि त्यहाँबाट उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रयोगशालाका निमित्त निर्देशक डा. साहले आफूलाई यस मेसिनमा कुनै विश्वास नरहेकोले यहाँ रिपोर्ट नेगेटिभ आए पनि थप परीक्षणको लागि काठमाडौं पठाउँदै आएको बताए । उनले भने, ‘हामीसँग मेसिन नभएको अवस्थामा समेत स्वाब संकलन गरेर परीक्षणको लागि काठमाडौं पठाउँदै आएका थियौँ र त्यही रिपोर्टमा विश्वास थियो, तर अहिले यहाँ आएको मेसिनमा पूर्ण विश्वास गर्ने अवस्था रहेन ।’ उनले आफूहरुले ठूलो मेसिन माग गरे पनि सरकारले पुनः सानै मेसिन पठाएको बताए । आफूहरुसँग छलफल नै नगरी मेसिन पठाएको निमित्त निर्देशक डाक्टर साहको भनाइ छ ।