भद्रपुरका सामाजिक अभियन्ता घिमिरेको अमेरिकामा निधन

स्व. दाताराम घिमिरे

झापा । वैदिक समाज झापाका संस्थापक तथा पूर्व अध्यक्ष भद्रपुर १० चन्द्रगढी निवासी समाजसेवी तथा दानवीर सामाजिक अभियन्ता दाताराम घिमिरेको ८४ वर्षको उमेरमा निधन भएको छ ।

धार्मिक जागरण तथा सामाजिक उन्नतिमा निस्वार्थ सेवाका लागि आर्थिक तथा जिन्सी सहयोग गरेर योगदान दिने दानवीर घिमिरेको बैशाख २८ गते तदनुसार सन् २०२० मे १० का दिन सम्युक्त राज्य अमेरिकाको क्याली नर्थ क्यारोलिना राज्यमा निधन भएको हो ।
धार्मिक विकृति बिरूद्ध सामाजिक सुधारका लागि आदिम ग्रन्थ वेद विद्याको अध्ययन तथा अध्यापन गर्नका लागि तन मन र धनले निस्वार्थ सेवामा रहनु भएको घिमिरेको निधनले विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरूले समाज सुधारको मूल खम्बा नै गुमेको प्रतिकृया दिएका छन् ।

झापा सदरमुकाम चन्द्रगढीलाई केन्द्र बनाएर आदिम ग्रन्थ वेद विद्याको प्रचार प्रसार गरिरहेको वैदिक समाज झापाले शोक वक्तव्य प्रकाशित गरी घिमिरेले जीवनको महत्वपूर्ण समय धर्मका नाममा हुने विकृति विसंगति अन्त्य गर्न तथा समाजको उन्नतिका लागि तन मन र धन दान दिन सधै अगाडि बढिरहनु भएको बताएको छ । सचिव द्रोण अधिकारीद्वारा जारी शोक वक्तव्यमा घिमिरेको साथ र सहयोगले वैदिक समाज नेपालले धार्मिक साँस्कृतिक विचलन बिरूद्ध सामाजिक जागरण अभियान सफल रूपमा अगाडि बढाइ रहेको जनाइएको छ ।

वि सं १९९३ साल फागुन २ गते विष्णुलाल तथा विष्णुमाया घिमिरेको कोखबाट भोजपुर जिल्लाको साविकको लेखर्क गाउँ पञ्चायत वडा नम्बर ६ काभ्रेमा जन्मिएका धिमिरे वि सं २०४५ सालदेखि झापा जिल्लाको साविको चन्द्रगढी ६ हाल भद्रपुर १० केन्द्रमोडको स्थायी बासिन्दा भएर समाज सुधार अभियानमा जुटिरहेका थिए । स्वर्गीय घिमिरे गौसंरक्षण समितिको संरक्षक, घिमिरे बन्धु कल्याण परिषदका संरक्षक लगायत धार्मिक सामाजिक संस्थाका दाताका रूपमा स्थापित थिए ।

घिमिरेकी धर्मपत्नी गंगादेवी छोरा÷बुहारी चेतनाथ÷नमिता, हरि÷सुना, लेखनाथ÷सृजना र ढुण्डीराज÷रस्मी, छोरीज्वाई कौशिला घिमिरे, सीता÷माधव मैनाली र चण्डिका÷राजीव आचार्य लगायत ७ नाती ७ नातिनी रहेका छन् भने छोरा हरि बाहेकका सवै परिवार अमेरिकाका बासिन्दा रहेका कारण ३ महिना अगाडि अमेरिका लगिएका स्वर्गीय घिमिरको वैदिक विधि अनुसार ७ दिनमै सक्ने गरी काज किरिया सुरू गरिएको परिवार श्रोतले जानकारी दिएको छ ।