नेपालको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर नै हो ?
तथ्य र प्रमाणका आधारमा देशको क्षेत्रफल निर्धारण नगरेकै कारण गलत तथ्य समावेश भयो : सीमाविद् बुद्धिनारायण श्रेष्ठ
काठमाडौं । नेपालको जनसंख्या प्रत्येक १० वर्षमा गणना हुन्छ । मानिसको जन्म र मृत्युको नियमित प्रक्रियाका कारण निश्चित समयचक्रमा देशको जनसंख्या गणना गरिन्छ । तर देशको भूगोल स्थिर रहने भएकाले यसको मापन बारम्बार गरिरहनु पर्दैन । नेपालको सन्दर्भमा भने त्यो मान्यता पालना गर्दा युगौंसम्म पनि जनता ठूलो भ्रममा सीमित रहनुपर्ने अवस्था देखा परेको छ । दशकौंदेखि नेपालको भूगोल तथा क्षेत्रफलबारे हाम्रा पाठ्यक्रममा उल्लेख भएको तथ्य हो– नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्र्गिकलोमिटर । के यही हो त नेपालको वास्तविक क्षेत्रफल ? गम्भीर प्रश्न खडा भएको छ । खासगरी सीमा अतिक्रमणका मुद्दा समयसमयमा झेल्नु परिरहेको अवस्थामा दशकौंदेखि हामीले पाठ्यक्रममा अध्ययन–अध्यापन गराउँदै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर नै नेपालको वास्तविक क्षेत्रफल हो ? अहिले नेपालसँग उक्त परिमाणमा भूभाग छ ? प्रश्न उठ्नु स्वाभाविक हो ।
क्षेत्रफल नै गलत !
सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपालको क्षेत्रफलको तथ्यांक नै दशकौंदेखि गलत उल्लेख गरिएको छ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटर भित्र लिम्पियाधुरा क्षेत्र समावेश नभएको उनले बताए । ‘१ लाख ४७ हजार १८१ वर्ग्किलोमिटर क्षेत्रफल भनेर हामीले भनिरहँदा यो क्षेत्रफलभित्र लिम्पियाधुरा पर्दैन,’ उनले भने, ‘यसमा लिपुलेक र कालापानी समावेश भए पनि लिम्पियाधुरा समावेश छैन ।’ नापी विभागका सूचना अधिकारी दामोदर ढकाललाई भने नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्र्गिकलोमिटरभित्र हाल भारतसँग विवाद बढेको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश छ कि छैन भन्नेसम्म पनि जानकारी छैन । उनले भने, ‘यस्तो कुरा त म अहिले कसरी भन्न सक्छु र ? मलाई यसबारे ठ्याक्कै जानकारी छैन ।’
कति हो नेपालको क्षेत्रफल ?
सीमाविद् श्रेष्ठका अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार ४ सय ९१ वर्र्गिकलोमिटर हो । कालापानी, लिपुलेक, लिम्पियाधुरासम्म नेपालको भूभाग रहेको तथ्य र प्रमाणका आधारमा देशको क्षेत्रफल निर्धारण नगरेकै कारण गलत तथ्य समावेश हुन पुगेको उनले बताए । ‘२०३२ सालमा नेपाल आफैंले नक्सा बनाउन सुरु ग(यो,’ उनले भने, ‘नक्सा बनाउने जिम्मा दिएको संस्थाले कन्फ्युजनका कारण लिम्पियाधुरालाई छुटाएर नक्सा बनायो ।’ नेपालको अहिले भनिँदै आएको क्षेत्रफल (१ लाख ४७ हजार १८१ वर्गकिलोमिटर) मा लिम्पियाधुराको क्षेत्रफल (३१० वर्ग किलोमिटर) जोडेरमात्र देशको वास्तविक क्षेत्रफल आउने उनले बताए । तथ्य र प्रमाणका आधारमा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ४९१ वर्र्गिकलोमिटर हुन आउने भए पनि त्योभन्दा निकै कममात्र हामीले भोगचलन गर्दै आएको श्रेष्ठ बताउँछन् । सीमाविद् श्रेष्ठका अनुसार तथ्यगत रुपमै ३७२ वर्गकिलोमिटर क्षेत्रफल अतिक्रमण भएको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने भूभाग हाल भारतको अतिक्रमणमा परेको उनले बताए । मेचीको ताप्लेजुङदेखि झापा–कञ्चनपुर हुँदै महाकालीको दार्चुलासम्म भारतले कति नेपाली भूभाग अतिक्रमण गरेको छ भन्ने प्रष्ट हिसाब निकाल्नसमेत कठिन हुन थालिसकेको उनको भनाइ छ । ‘सुस्तामै पनि १४५ वर्र्गिकलोमिटर भूभाग अतिक्रमणमा परेको छ,’ उनले भने, ‘त्यसबाहेक विभिन्न ६७ ठाउँमा नेपाली भूभाग अतिक्रमण भएको छ ।’
श्वेतपत्र किन नल्याउने ?
देशको अर्थतन्त्रको अवस्था, यहाँसम्म कि सरकारले नेपाल ट्रस्टको सम्पत्तिको अवस्थाबारे श्वेतपत्र जारी गरेको छ । बेलाबखत खास विषय तथा मुद्दामा सरकारले त्यसको वास्तविकता के हो भन्नेबारे श्वेतपत्र जारी गर्ने प्रचलन छ । नेपाल–भारत सीमा विषय लामोसमयदेखि विवादित रहँदै आएको छ । तर सीमाको अवस्था के छ, सन्धि–सम्झौताले के भन्छन् लगायतका विषयबारे कमैमात्र नेपालीलाई जानकारी होला ।