अझै केहीदिन वर्षा हुने
काठमाण्डौं । विगत केही दिनयतादेखि नेपालमा स्थिर मौसमी प्रणालीको प्रभाव सक्रिय रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । यी मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने मौसमविद्को अनुमान रहेको छ ।
यस वर्ष पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई सक्रिय अवस्थामै रहेकाले निरन्तर वर्षा भइरहेको बताइएको छ । वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोका समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ । हाल देशको सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशमा बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराईका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार देशको अधिकांश भूभागमा सामान्य बदली भई देशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहको औँल्याएको छ । बुधबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।