७३ हजार ४ सय बढी परीक्षण, १३५०० हजार क्‍वारेन्टाइनमा

काठमाडौं । नेपालमा आजसम्म कोरोना भाइरस परीक्षणको संख्या ७३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‍र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५६ हजार ५ सय ५० वटा र पिसिआर विधिमार्फत १६ हजार ८ सय ९८ वटा परीक्षण भएका छन् मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय १६ वटा परीक्षण गरिएको जानकारी दिए ।

आइतबारसम्म आरडिटी विधिमार्फत भएका परीक्षणको संख्याको प्रादेशिक विवरण यसप्रकार छ ः— प्रदेश नम्बर १ मा ७ हजार ५५ वटा, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० वटा, बागमती प्रदेशमा ९ हजार १ सय ८१ वटा, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ वटा, प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ७४ वटा, कर्णाली प्रदेशमा ६ हजार ३ सय ६३ वटा, सुदुरपश्चिम प्रदेशमा १४ हजार ९सय १० वटा, आजको अपडेटअनुसार क्वारेन्टाइनमा बस्नेहरुको कुल संख्या १३ हजार ६ सय २५ जना रहेको छ । जसमध्ये सबैभन्दा कम बागमती प्रदेशमा १ सय १० जना र गण्डकी प्रदेशमा २ सय ४२ जना रहेका छन् । त्यसपछि प्रदेश नम्बर १ मा १ हजार २ सय ३८ जना, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३ जना, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय २४ जना रहेका छन् । सबैभन्दा बढी भने प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालयका अनुसार आज देशभर १ सय ६४ जना सम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन् । तीमध्ये ३ जना काठमाडौं उपत्यकामा र काठमाडौंबाहिर १६१ जना रहेका छन् । प्रवक्ता देवकोटाले देशभर आजसम्म ११० जना कोरोना संक्रमित फेला परेका बताए । तीमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश नम्बर १ मा भेटिएका छन् । जहाँ संक्रमितको संख्या ३५ जना रहेको छ । त्यसपछि प्रदेश नम्बर २ मा ३१ जना, प्रदेश नम्बर ५ मा ३० जना, बाग्मती प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् । गण्डकी प्रदेशमा सबैभन्दा कम २ जना संक्रमित भेटिँदा अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाको संक्रमण फेला परेको छैन । अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकी ७९ जनाको देशका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । वीरगञ्‍जमा २७ जना, नेपालगञ्जमा २४ जना, विराटनगरमा २१ जना, रुपन्देहीमा ६ जना र भरतपुरमा एक जना संक्रमित उपचाररत रहेको र सबैको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।