इलाममा लकडाउनको मजाक

प्रकाश नेपाल

इलाम । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर ‘लकडाउन’ छ । सकेसम्म घरभित्रै बसेर संक्रमण फैलिन नदिन सहयोग गर्नुपर्ने हो । तर, देशका विभिन्न ठाउँमा मानिसहरुले लकडाउनको मजाक उडाएको पाइन्छ ।

इलामका सडकमा बिहीबार यस्तो दृष्य देखियो, जसले लकडाउन समाप्त भइसकेको त होइन ? भन्ने सोच्न बाध्य बनाउँथ्यो । बिहीबार सदरमुकाम इलाम बजारमा लागेको हाटमा हटिया भर्न आएका स्थानीयका कारण यहाँ भीडभाड भएको देखिन्छ । बजार भर्न आएकाहरु स्वयं आफैंपनि लकडाउन खुलिसकेको भानमा थिए । सरकारले अत्यावश्यक वस्तु किनमेल गर्नपनि अनिवार्य एक मिटरको दूरी कायम गर्न भनेको छ । तर, यहाँ यस्तो सामाजिक दूरी त के हात समाइ–समाइ पनि हिँडिरहेका थिए । अन्य पसल बन्द गर्न लगाएर तरकारी पसल खुल्ला गराएपनि सामाजिक दूरी कायम नगराएकोले कोरोनाभाइरस जिल्लामा भित्रिने खतरा बढेको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलको भनाइ छ ।

इलाम उद्योग वाणिज्य संघ इलामले बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कुराका लागि बजार खुल्ला गराएको छ । बिहानको समयमा बजार खुल्ला गराएकाले पनि भीड बढेको बताइएको छ । वाणिज्य संघले पनि आफूहरुको निर्णयमा स्थानीय सरकारले समन्वयमा बेवास्ता गरेको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष ईश्वर चिपालु बताउँछन् ।

सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन गरेको छ । लकडाउनका कारण जनतालाई सास्ती भइरहेको छ । जनतालाई सहज हुनेगरी बजार व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलको भनाइ छ ।अत्यावश्यक सामग्री किनमेल गर्न जनतालाई सहज हुनैपर्छ । तर, सरकारले तोकेको सामाजिक दूरी कायम गराउन प्रशासनले ध्यान पुर्‍याउन जरुरी देखिन्छ ।