बितेको २४ घण्टामा कोरोनाको नयाँ संक्रमित फेला परेनन्
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९९ जना कोरोनभाइरस संक्रमित फेला परेका छन् जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । निको भएका ३ जनामा पुनः कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरुको पनि उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट १४ हजार ५०९ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट ५४ हजार ९३ वटा परीक्षण भइसेका छन् । पछिल्लो २४ घण्टामा १४ सय ५१ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
प्रदेश १ मा ६५५९, प्रदेश २ मा ५३४८, बागमती प्रदेशमा ९०४४, गण्डकी प्रदेशमा ६३४९ जना, प्रदेश ५ मा ५७१३, कर्णाली प्रदेशमा ६६०८ तथा सुदूरपश्चिम प्रदेशमा १४ हजार ४७२ जनाको आरडीटी प्रविधिबाट परीक्षण भएका छन् । १७ हजार ३७२ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा उपत्यकामा तीन जनासहित कूल १३३ जना रहेका छन् । रेड जोनमा सम्भावित संक्रमितको संख्या ३३५ रहेको छ ।
नेपालमा कोभिड–१९ को हटस्पट देखिएका उदयपुर ५ सय थान किट र वीरगञ्ज र नेपालगञ्जमा थप १–१ हजार किटसहित स्वास्थ्य टोली पठाइएको मन्त्रालयको भनाइ छ ।