ओली र देउवाबीच टेलिफोन संवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन् । बुधबार सभापति देउवाले तीन वटा विषयमा ध्यानाकर्षण गराउन टेलिफोन संवाद भएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानरकारी दिए ।

देउवाले बाँकेको नेपालगन्जमा युद्धस्तरमा परीक्षण र देशभर पिसिआर प्रविधिद्वारा परिक्षण द्रुत गतिमा विस्तार गर्न आग्रह गरेका हुन् । कुवेत सरकारको सेल्टरमा रहेका करिब ३ हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि व्यवस्थित योजना बनाएर कार्यन्वयन गर्न पनि माग गरेको विज्ञप्तिमा जनाएको छ ।

सभापति देउवाले सिमा नाकामा क्वारेन्टाइनमा बसेको महिनादिन पुगिसक्दापनि अझै कयौंले देश आउन नपाएको स्मरण गराएका थिए । तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्ने ब्यवस्था मिलाउन प्रधानमन्त्री ओलीलाई देउवाको आग्रह छ । सभापति देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्नु सरकारको कर्तव्य रहेको प्रधानमन्त्रीलाई स्मरण गराएका थिए ।

’केन्द्रीय सरकारले उद्दार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेर मात्रै घर जान दिने गरि ब्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन प्रधानमन्त्री समक्ष सभापतिले आग्रह र माग गरेकाछन् ।’