प्रयोगशालाको दैनिक क्षमता ३ हजार, परीक्षण ३ सय मात्र
काठमाण्डौं । नेपालमा कोरोनाभाइरसको पिसिआर परीक्षण गर्ने १६ वटा प्रयोगशाला छन् । यी प्रयोगशालाबाट दैनिक ३ हजार व्यक्तिको परीक्षण गर्न सकिन्छ । १६ वटा प्रयोगशालामध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र दैनिक ८ सय नमूनाको परीक्षण गर्नसक्छ । प्रयोगशालाकी निर्देशक डाक्टर रूना झाका अनुसार जनशक्ति र श्रोत व्यवस्थापन गरेर परीक्षणलाई बढाएर १५ सय पुर्याउन सकिन्छ । जनकपुरबाहेक १४ वटै प्रयोगशालाको पनि दैनिक सय वटा परीक्षण गर्नसक्ने क्षमता छ । तर अहिले देशभरबाट दैनिक ३ सय जनाको मात्र परीक्षण भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चार दिनमा दैनिक ३ देखि ४ सय जनाको परीक्षण भएको छ । प्रयोगशालाहरूले नमूना संकलन नै कम भएकाले परीक्षण पनि कम भएको जनाइएको छ । ’हामीले जति नमूना आयो त्यति नै परीक्षण गर्ने हो,’ प्रयोगशालाका एक स्वास्थ्यकर्मीले भने । परीक्षण कम हुनुको अर्को कारण किट अभाव हो । सबै प्रयोगशालामा पर्याप्त किट उपलब्ध छैन। ’आरएनए एक्सट्रयाक्सन’ किट नहुँदा चितवन रहेको प्रयोगशाला तीन दिन देखि बन्द छ । ’हामीले काठमाडौंमा भनेका छौं । त्यहाँ पनि छैन रे । अब बाहिरबाट आएपछि पठाउँछौं भनेका छन्,’ अस्पताल स्रोतले भने । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिटिएम नहुँदा सोमबार चारजनाको नमूना लिन नसकिएको अस्पताल स्रोतले बतायो । ’स्वाब झिक्ने स्टिक नै छैन । आज पनि लिन पठाएका छौं । आयो भने हामी स्वाब लिन बाँकी व्यक्तिको नमूना लिन्छौं,’ उनले भने ।
सरकारले अहिले स्वाब झिक्ने स्टिक अभाव भएको भन्दै प्रयोगशालाहरूलाई घाँटी वा नाक कुनै एउटाको मात्र स्वाब लिन दबाब दिइरहेको छ । प्रयोगशालाका एक स्वास्थ्यकर्मी भन्छन्, ’सरकारले सबै कुरा किन्न सक्ने, भिटिएम र स्वाब स्टिक किन्न नसक्ने हुन्छ र ।’ बाहिर रहेका प्रयोगशालाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई किट माग गरेपनि प्रयोगशालाले केन्द्रमै किट अभाव रहेको बताउँदै आएको छ । सरकारले पछिल्लो समय तिब्बत सरकारले दिएको किट नै प्रयोगशालाहरूलाई वितरण गरिरहेको छ । थप सामाग्री ल्याउनलाई सरकारले नेपाली सेनालाई जिम्मा दिएपनि उक्त सामग्री अहिलेसम्म आउन सकेको छैन । किट अभावकै कारण जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको आरटी पिसिआर मेसिन झन्डै एक हप्तापछि मात्र सञ्चालनमा आयो । हिजोबाट सञ्चालनमा आएको प्रयोगशालामा २ सय वटा नमूनाको परीक्षण गर्ने किट छ । सरकारसँग थप किट माग गरिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक देशभर रहेका सबै प्रयोगशालामा २ सय वटाको मात्र परीक्षण गर्न सकिने किट छ । त्यसलाई नै जुगाड गरेर प्रयोगशालाहरूले प्रयोग गर्दै आएका छन् ।
विज्ञहरूले समेत सरकारले परीक्षणको दायरालाई व्यापक बनाउनुपर्ने जोड दिँदै आएका छन् । लकडाउन लम्ब्याउने तर परीक्षण सुस्त हुने हो भने लकडाउनको कुनै अर्थ नहुने उनीहरुको तर्क छ ।