डिसइन्फेक्सन टनेल प्रहरीलाई हस्तान्तरण

भद्रपुर । कोभिड–१९ को सङ्क्रमण रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रवेशद्वारमा ‘डिसइन्फेक्सन टनेल’ जडान गरिएको छ ।

नागरिकस्तरमा गठित मेची अभियानले निर्माण गरेर सो टनेल प्रहरीलाई हस्तान्तरण गरेको अभियानका संयोजक विजय डालमियाले बताएकाछन् ।

दुवै टनेल प्रहरी कार्यालयको प्रवेशद्वारमा राखिएको छ ।

ज्यानको पर्वाह नगरी कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रपङ्तिको सुरक्षामा खटिएका प्रहरीलाई स्प्रेमार्फत भाइरसको जोखिमबाट जोगाउन टनेल बनाएर हस्तान्तरण गरिएको अभियानका संयोजक डालमियाले बताए ।

टनेल निर्माणमा काँकडभिट्टाका ६ वटा सहकारी संस्था र काँकडभिट्टा खानेपानी उपभोक्ता संस्थाले सहयोग गरेका छन् ।

यसअघि अभियानले मेची अञ्चल अस्पतालमा समेत यस्तै टनेल जडान गरिसकेको छ ।