कोरोना संक्रमित ४७ जना : ५ जना एकै परिवारका


काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो। त्यसैगरी बिहीबार ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ५८ वर्षीय पुरुष र ५१ वर्षीया महिला डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ ।

उदयपुर सदरमुकाम गाइघाट स्थित त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के क्षेत्रमा मंगलवार कोरोना पुष्टि भएका ११ संक्रमितमध्ये ५ जना एउटै परिवारको रहेको खुलेको छ ।

दुईजना महिला र नौजना पुरुष संक्रमित मध्ये ४ पुरूष र एक महिला एउटै परिवारका सदस्य रहेको पुष्टि भएको हो ।

संक्रमितहरू एकै परिवारका पाँचजना र अन्य अरू परिवारका छन् । मंगलवार संक्रमित सबै भुल्केका स्थानीय बासिन्दा हुन् ।

पाँचजनामध्ये एकै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाई र १८ वर्षीय भाञ्जा रहेका छन् ।

१८ वर्षीय छोरा भारतको उत्तरप्रदेशमा उर्दु भाषा पढ्न गएको खुलेको छ । उनी लकडाउनभन्दा केही दिनअघि मात्रै उनी घर आएको बुझिएको छ ।

उनीबाट नै परिवारका अन्यमा कोरोना संक्रमण भएको हुन सक्ने आाकलन गरिएको छ ।

उता गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएका त्य परिवारका बहिनी ज्वाईं लकडाउनका कारण व्यापार गर्न नपाएपछि माइती घर भुल्केमा बस्दै आएका थिए ।

व्यापार गर्दै आएको बजारको घर साँघुरो भएको र बाहिर आउजाउ गर्न नपाएपछि माइती घरमा गएर बसेका उनीहरूका छिमेकीले बताएका छन् ।

स्थानीयले संक्रमित व्यापारी गाउँ सिल गर्नुअघि लकडाउनकै समयमा पनि गाईघाट भुल्के आउजाउ गरेको बताएका छन् ।

गाईघाट बजार र बस्तीमा समेत आउजाउ भएकाले उनीबाट अन्यमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।
बुधवार पुष्टि भएकामा २४, ६० र ७२ वर्षीय पुरुष छन् । मंगलवार पुष्टि भएका संक्रमितहरूको उमेर १८, १८, २०, ३३, ४०, ४१,४१, ५२, ५८ वर्षीय पुरुष, ३६ वर्षीया महिला र अर्की एक महिलाको उमेर नखुलेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमितको संख्या ४५ पुगेको छ । उदयपुरको भुल्के देशकै सर्वाधिक कोरोना संक्रमित क्षेत्रका रूपमा देखिएपछि प्रदेश सरकारले पूर्ण बन्देज गरी बन्दाबन्दी क्षेत्रका घोषण गरी नियन्त्रणमा राख्ने निर्णय गरिसकेको छ ।

व्यक्तिबाट समुदाय केन्द्रित भएर फैलिन पुगेको संक्रमण यस प्रकरणपछि तेस्रो चरणमा प्रवेश गरेको विज्ञहरू बताउँछन् ।