उदयपुरको भुल्केका थप तीनमा कोरोना : २ जना घर फर्के

झापा । कोरोना संक्रमणको केन्द्र बन्दै गएको उदयपुर सदरमुकाम गाइघाट स्थित त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

‘बीपी प्रतिष्ठान धरानको ल्याबमा पिसिआर परीक्षण गर्दा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुषमा कोरोना देखिएको हो’, प्रवक्ता देवकोटाले भने, ‘यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।’ उनीहरू मध्ये ७ जना निको भइसकेका छन् ।

यसै बीच सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका ९ का ४० बर्षीय ईन्द्रबहादुर बिकको चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

यसअघि सुदूरपश्चिममा कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय राज बिक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय अमृत शाही निको भएर घर फर्किएका छन् भने कञ्चनपुरको बेदकोट नगरपालिका ९ का ४० बर्षीय ईन्द्रबहादुर बिक बुधवार घर फर्केका हुन् ।

अब सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ५२ बर्षीय महिलाको उपचार भईरहेको छ ।

यस्तै राजधानी काठमाण्डौमा नेपालका तेस्रो संक्रमित टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक निको भएर घर फर्किएका छन् ।

उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी ९५३७ विमानमा नेपाल आएका थिए ।

पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।