विपक्षी दलको एकै स्वर
अध्यादेशले लोकतन्त्र धरापमा पार्छ : संसद बैठक राख्न माग
प्रशन्न पोखरेल ।
सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेशले लोकतन्त्र धरापमा पार्ने विपक्षी दलले निचोड निकालेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बोलाएको बैठकमा सहभागी संसदमा प्रतिनिधित्व गरेका सत्तारूढ नेकपाबाहेकका दलका नेताले अध्यादेशले मुलुक बरबाद पार्ने पनि टिप्पणी गरे ।
करिब तीन घण्टा छलफलमा सहभागी भएपछि बाहिरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सामाजिक विश्वास भत्काउने अध्यादेश स्वीकार्य नहुने बताए । ‘सरकारले ल्याएको अध्यादेशले राजनीतिक स्थिरता, सामाजिक विश्वास भत्काउने र धरासायी बनाउँछ,’ पौडेलले पत्रकारहरूसँग भने, ‘हामी अध्यादेशको विरोधमा उभिन्छौं ।’
पौडेलका अनुसार संसदमै अब अध्यादेशबारे छलफल हुन्छ । पौडेलले सामाजिक दूरी कायम गरी संसद बैठक सञ्चालन हुनुपर्ने र त्यहाँ नै अध्यादेशबारे गम्भीर रूपमा छलफल हुने जानकारी दिए ।
‘राजनीतिक दलहरू, आम नागरिकलाई विश्वासमा लिएर जाने कुरा भएको छ,’ उनले भने, ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने र प्रादेशिक संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई पनि साथै लिएर जाने कुरा भएको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले गलत अभ्यास गरेको पनि उनले बताए ।
अर्को प्रतिपक्षी दल समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई क्षति पुग्ने गरी सरकारले अध्यादेश ल्याएकोले विरोध गर्नु परेको बताए । ‘यो अध्यादेशले मुलुकलाई क्षति पुग्छ । अस्थिरतातर्फ लैजान्छ ।
मुलुकलाई बरबाद गर्छ, लोकतन्त्र धरापमा पार्न सरकारले अध्यादेश ल्याएको हो,’ बैठकपछि अध्यक्ष यादवले भने । उनले अध्यादेश राष्ट्रहित विपरीत भएको पनि बताए । ‘लोकतन्त्र रक्षा गर्न लोकतान्त्रिक शक्तिहरू एकजुट र सहकार्य गरी एकजुट हुन्छौं,’ अध्यक्ष यादवले भने, ‘थप छलफल गर्दै जाने कुरा भएको छ ।’
प्रधानमन्त्रीले आफ्नै दलमा समेत छलफल नगरी अध्यादेश ल्याएको पनि यादवले टिप्पणी गरे । ‘आफ्नै दलमा समेत छलफल नगरी नाटकीय ढंगले अध्यादेश ल्याउनुपर्ने के जरूरी थियो ?,’ यादवले प्रश्न गरे, ‘मुलुक अस्थिर हुने गरी ल्याएको अध्यादेश स्वीकार्य हुँदैन ।’
प्रधानमन्त्रीले नेकपा होइन अरू दलका लागि अध्यादेश ल्याउनु परेको अभिव्यक्ति दिने गरेको प्रसंगमा अध्यक्ष यादवले नामै किटेर दलको नाम लिनु अपराध भएको बताए ।
‘लोकतन्त्रलाई रक्षा गर्ने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो नि,’ अध्यक्ष यादवले भने, ‘अरू दललाई फुटाउन ल्याएको भन्नु त अपराध हो ।
समाजवादी पार्टीलाई नामै किटेर भन्नु अपराध हो । प्रधानमन्त्रीको कुर्सीमा बसेकोले यस्तो भन्न मिल्दैन ।’