वैज्ञानिकहरुको दावी, कोरोना नियन्त्रण खोजमा महत्वपूर्ण सफलता
एजेन्सी । कोरोना भाइरसको नियन्त्रणका लागि महत्वपूर्ण खोजमा सफलता मिलेको अमेरिकी वैज्ञानिकले दावी गरेका छन् ।
कोरोना भाइरसलाई नियन्त्रणमा राख्न अमेरिकी वैज्ञानिकले मानव शरीरको ‘टार्गेट पोइन्ट’ पत्ता लगाएका छन् ।
उक्त ‘टार्गेट पोइन्ट’मा कोरोना भाइरस विरुद्धको एन्टिभाइरल औषधि प्रयोग गर्दा प्रभावकारी काम गर्ने दावी गरिएको छ ।
यसलाई कोरोना भाइरसको उपचारको खोजीमा भइरहेका प्रयासमा ठूलो सफलता मानिएको छ ।
यसको सहयोगले अब औषधिलाई मानव शरीरको ठीक त्यही ठाउँमा असर गर्ने बनाउन सकिनेछ, जुन ठाउँमा भाइरस टाँसिएर रहेको हुनेछ ।
यो खोजी अमेरिकाको कर्नेल विश्वविद्यालयका वैज्ञानिकले गरेका हुन् ।
यो खोजीलाई विश्वविद्यालयले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले सबैभन्दा पहिले कोरोनाभाइरस अर्थात कोभिड १९ को संरचना र प्रकृतिको मिलान यसअघि फैलिएका भाइरस सार्स र मर्सको संरचना र प्रकृतिसँग गरेका थिए ।
वैज्ञानिका अनुसार कोरोना भाइरसको बाहिरी काँडेदार पत्र मानव शरीरको कोशिकाहरुमा गएर टाँसिएर कोशिकालाई संक्रमित गर्दै अरु भाइरस उत्पादन गर्न सुरु गर्छ ।
कोरोना भाइरसको संरचना सन् २००२ मा फैलिएको सार्स भाइरससँग ९३ प्रतिशत मिल्दोजुल्दो रहेको वैज्ञानिकहरुले दावी गरेका छन् ।
वैज्ञानिक गेरी ह्वीटकरको टिमले इन्फ्लुएन्जाको भाइरस र कोरोना भाइरस शरीरका कोशिकामा कसरी प्रवेश गर्छ भन्ने विषयमा पनि अनुसन्धान जारी राखेको बताइएको छ ।
वैज्ञानिकहरु अब भाइरसको बाहिरी पत्रको रासायनिक प्रक्रिया पत्ता लगाएर यसलाई रोक्ने पद्धतिको खोजिमा समेत जुटेका छन् ।
यदि उक्त रासायनिक प्रक्रिया रोकियो भने भाइरसले मानव शरीरका कोशिकासँग सम्पर्क गर्नसक्ने छैन र केही दिनमा भ्याक्सिनको असरले मर्ने दावी गरिएको छ ।