लेख

गुम्‍नाम बन्दै चन्द्रगढ : उत्खनन् नभइ प्राचीन इतिहास बन्दैन

द्रोण अधिकारी
भद्रपुर ।
झापा सदरमुकाम चन्द्रगढी स्थित ऐतिहाँसिक स्थल चन्द्रगढको पुरातत्व महत्व बारेमा अध्ययन अनुसन्धान हुन नसक्दा पहिचान गुमाउँदै गएको छ । २ हजार वर्ष पुरानो मौर्यकालिन सभ्यतासित गाँसिएको यस क्षेत्रको प्राचीनता बारे सरकारले चासो नदिँदा छाँयामा पर्दै गएको हो । भद्रपुर–बिर्तामोड रोड उत्तरमा रहेको यस क्षेत्रले दुई नगररको सीमासंग जोडिएर आफ्नो अस्तित्व खोजिरहेको भान हुनछ । यस स्थलको उत्खन्नका लागि तीन तहकै सरकारले चासो नदिँदा आन्तरिक तथा बाह्य पर्यटकको नजर समेत पर्न सकिरहेको छैन । उत्खनन् र उचित संरक्षणको पखाईमा रहेको छ चन्द्रगढमा नजिकको सरकार मानिएको भद्रपुर नगर प्रशासनले समेत चासो नदिएको स्थानीयको गुनासो छ । भद्रपुर नगरपालिका ९ र १० सित सीमा गाँसिएको देउनिया खोला किनारमा अवस्थित चन्द्रगढलाई जोगाइराख्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सुरू गरिएको भनिएको पहल पनि रकम अभावका कारण प्रभावकारी बन्न सकेको छैन ।

यसको संरक्षणका लागि स्थानीय सरकार भद्रपुर नगरपालिकालाई लिखित र मौखिक रुपमा आग्रह गरेर वन समितिले अवधारणापत्र बनाएर अघि बढाएको तीन वर्ष पूरा हुन लाग्यो । सोही अवधारणा पत्रका अनुसार भद्रपुर नगरपालिकामा गुरुयोजना बनाइ काम थालिएको भनिए पनि केही टहरा बनाउने काम भन्दा अन्य उपलब्धी हुन सकेको छैन । यो स्थान मौर्यकालिन इतिहाससंग जोडिएको यहाँका विज्ञहरू बताउँछन । प्रारम्भिक अध्ययन अनुसार विभिन्न १६ वटा थुम, २ वटा पोखरी र बीच–बीचमा अग्लो माटोको बाटोले घेरिएको गोलो आकारको स्थल झापाकै किचकबध धार्मिक स्थल भन्दा पुरानो रहेको विज्ञहरूको दावी छ । तत्कालिन चन्द्रगढी गाविस २ मा पर्ने ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार समेत निर्माण गरिएको अनुमान गरिएको छ । हाल उक्त इनार भग्नावशेषको रूपमा पाइन्छ । यस क्षेत्र वरपर वन फडानी गरी आदिवासी समुदायलाई चन्द्रशम्शेरले नै मानव बस्तीका रूपमा बसाएको स्थानीयको भनाइ छ ।

तस्बिर : बिगम श्रेष्‍ठ

सो स्थानमा स्थानीयको पहलमा लक्ष्मी नारायण मन्दिरको निर्माण समेत गरिएको छ । सो क्षेत्रलाई धार्मिक तथा ऐतिहासक पर्यटकीय स्थलको रूपमा विकास गराउन स्थानीय लागि परेका छन् । चन्द्रगढको महत्वको बारेमा चन्द्रगढी र भद्रपुरबासीलाई नै थाहा नभएको स्थानीय लोकबहादुर कुँवर बताउँछन् । चन्द्रगढको नामबाटै साविक चन्द्रगढी गाविस भएको इतिहास रहेको उनको भनाइ छ ।

साविक चन्द्रगढी भद्रपुर नगरमा विलय भएपछि अहिले सो इतिहास बारे स्थानीय बासिन्दा अनविज्ञ रहने अवस्था आउन थालेको छ । चन्द्रगढी सामुदायिक वन क्षेत्र नजिकै रहेको चन्द्रगढको किल्ला झारजंगलले छोपिने गरेपछि वन समितिले सफाइको प्रयास गरे पनि पूर्ण रूपमा सफलता पाउन सकिरहेको छैन । विगतमा चन्द्रगढ किल्लामा कोही भित्र पस्न सक्दैन थियो तर वन समितिकै पहलमा सरसफाई गर्ने अभियान थालेपछि केही हदसम्म पस्न सकिने अवस्था आएको छ । तर, किल्ला र गढ क्षेत्रको पुरानो पहिचानलाई दृष्यात्मक स्वरूपमा हेर्न सक्ने अवस्था भने बन्न सकेको छैन । करिब १० विगहा क्षेत्रफल ओगोटिएको यस क्षेत्रलाई सरसफाई गर्दा वन समितिले गएको वर्ष ३ लाख २७ हजार खर्च गरेको जनाएको छ ।

चन्द्रगढ पुरानो किल्लाको रूपमा देखिएकाले यसलाई एक पटक उत्खन्न गरे मात्र ऐतिहासिक वा धार्मिक स्थल भनि पुष्टि हने जानकारहरूको भनाइ छ । स्थानीय सरकारले उत्खखनन् गर्न आर्थिक सामथ्र्यले नभ्याउने जनाइन्छ । एउटा सानो टुक्राको उत्खन्न गर्दा अहिले १५ देखि १६ लाख रुपैया सम्म खर्च लाग्ने जनाइन्छ । नेपालमा रहेको प्रविधिले मात्र उत्खनन् संम्भव नहुने हुँदा पटक–पटक विदेशमा लगेर परीक्षण गर्दा दुई÷चार करोड लाग्न सक्ने भएकोले रकम अभावका कारण चन्द्रगढ उत्खन्नको पखाइमा रहेको अवस्था छ । अहिले सम्मको अध्ययन र पुुरातत्व विभागको अवलोकन भ्रमणले चन्द्रगढ २ हजार बर्ष पुरानो किल्ला हो, जुन मौर्यकालीन समयसंग जोडिएको हुन सक्छ भन्ने अनुमान भए पनि जंगल र पहाड नजिकै बनाइएको किल्ला कस्को भनि प्रमाणित भएको छैन । धार्मिक तथा ऐतिहासिक स्थल किचकबधको उत्खन्नको बेला पुरातत्व विभागको टोली यहाँ आएको थियो । यसको पहिचानका लागि यस स्थानको संरक्षण गर्दै आएको चन्द्रगढी सामुदायिक वन र भद्रपुर नगर सरकारले पहल गर्न सके चन्द्रगढको प्राचीन इतिहासको खोजी हुन सक्ने थियो ।
झापामा अर्जुनधारा, किचकबध, सताक्षीधाम, विराटपोखरी, समयगढ जस्ता ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेका धार्मिक स्थलहरू रहेका छन् । केही स्थानमा पुरातत्व विभागले उत्खन्न गरी धार्मिक तथा ऐतिहासिक स्थल भनि प्रमाणित गरिसकेको छ । त्यस्तै इतिहास र पहिचान बोकेको चन्द्रगढ आसपासका बासिन्दाको गाइ चरण र हिउँदमा वनभोज खाने ठाउँका रूपमा रहन बाध्य छ । दक्षिणी झापामा पहिलो पटक बस्ती बसाइएको ठाउँको परिचय समेत पाएको चन्द्रगढ श्री ३ चन्द्रशम्शेरको नामसित जोडिएर पहिचान बनाएको ठाउँ भए पनि पछिल्लो पटक परिचय गुम्नाम बन्दै जादै छ ।