झापामा छुट्टै कोभिड अस्पताल बनाइने
भद्रपुर । कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि झापामा छुट्टै कोभिड अस्पताल बनाइने भएको छ । भेन्टिलेटरसहित कम्तीमा ५० शैयाको अस्पताल बनाउन ठाउँ छनोट गर्ने काम भइरहेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारअन्तर्गत बन्ने उक्त अस्पताल भद्रपुरस्थित कलवलगुडी प्रशिक्षण केन्द्रको भवनमा वा धुलाबारीस्थित आम्दा अस्पताल भवनमा राख्नेबारे अध्ययन भइरहेको प्रदेश सरकारको क्राइसेस मेनेजमेन्ट टिमका महामारी विशेषज्ञ डाक्टर सूर्य पराजुलीले जानकारी दिएकाछन् ।
यसअघि प्रदेश १ को विराटनगरस्थित कोशी अस्पतालमा कोभिड उपचारका लागि ५० शैयाको अस्पताल सञ्चालनमा आएको छ । उक्त अस्पतालमा शैया ७५ वटा पुर्याउने तयारी भइरहेको पनि उनले बताए । त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक सय बेडको छुट्टै कोभिड अस्पताल निर्माण भइरहेको छ । ‘धरान र विराटनगरमा गरी १ सय ७५ बेडको अस्पताल तयार भइरहेको छ । झापामा पनि ५० बेडको छुट्टै अस्पताल बनाउन सकिए सम्भावित महामारीमा प्रदेशवासीलाई स्वास्थ्य सेवा दिन सजिलो हुने डा. पराजुलीले वताएका छन् ।