दुई झापाली सपुतलाई श्रद्धाञ्‍जली

नयाँ सन्दर्भ
भद्रपुर । आज बैशाख ६ गते । बैशाख ६ गते झापा, नेपाल राष्ट्र र सम्पूर्ण नेपालीमात्रका लागि अविस्मरणीय दिन हो । आजकै दिन दुई झापाली युवाले सहादत प्राप्त गरेका थिए ।
बि.सं.२०६२ मा लोकतन्त्र प्राप्ति र तानाशाही शासनको अन्त्यका लागि सम्पूर्ण नेपाली आन्दोलनमा होमिएका थिए । जसलाई ०६२/०६३ को जनआन्दोलनको संज्ञा दिईएको थियो र छ । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा शाही सेना र प्रहरीवलको पेलाइले जनआन्दोलन शिथिल बन्ने स्थितिमा पुग्नलागेको आभाष हुनथालेको थियो ।

२०६२ बैशाख ६ गते झापाको सदरमुकाम भद्रपुरको सरकारी कार्यालयहरुस्थित चन्द्रगढीमा विहानै देखि आन्दोलनकारी जनताको भिड जम्न थालेको थियो ।

हेर्दाहेर्दै जनसमुहको सागरै उर्लियो । एकतर्फ निहत्था आन्दोलनकारी अर्कातर्फ आधुनिक हातहतियारसहित सेना र प्रहरी ।

दुवै पक्षवीच शुरुमा घम्साघम्सी र बल प्रयोग शुरु भयो । अनि आन्दोलनकारी पछि नहटेकाले अश्रु ग्यासको प्रयोग शुरु भयो । आन्दोनकारी झन् आक्रोशित हुँदै अघि बढ्न थाले । दमनकारीले गोली बर्षाउन थाल्यो । आन्दोलनस्थल रक्तरन्जित भयो । गोलीको बर्षाको वीचबाट स्थानीय रेडक्र्रसका स्वयम्सेवीले घाइतेलाई अस्पताल पुर्याए । आन्दोलनकारी ज्यानको प्रवाह नगरी डटिरहे ।

साँझ पर्यो, गोलीको बर्षा मत्थर भयो । मेची अन्चल अस्पतालको प्राङ्गण रगतमा मुछिएका आन्दोलनकारीको सोत्तर थियो । ति मध्ये सुरज विश्वास र राजन पुरीले अन्तिम सास लिसकेका रहेछन, सहादत प्राप्त गरिसकेका रहेछन । झापाका यी दुई सपुतको सहादतले शिथिलताको मुखमा पुगेको अन्दोलनको आगोमा घ्यू थप्यो । सारा नेपाल आन्दाोलनमा खनियो । परिणामतः नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रको आधारशिला खडागर्न आफ्नो ज्यानको वली चढाउने यी दुर्ई झापाली सपुत्लाई आजकादिन स्मरण गर्दै नयाँ सन्दर्भ अनलाइन हार्दि श्रद्घान्जली अर्पण गर्दछ ।