हल्दिवारीमा कोरोना संक्रमण छैन
झापा । झापाकोे हल्दिवारीमा कोरोना संक्रमणको शंका गरिएका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा उनको एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको हो । बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा ३९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । युवकको स्वाब परीक्षणका लागि बुधबार साँझ नै कोशी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा त्यहाँ भएको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । उनले आरडीटी पोजिटभ देखिएका युवकसहित झापाबाट पठाइएका २१ जनाको थ्रोट स्वाब परीक्षणबाट पिसिआर रिपोर्ट नेगेटिभ आएको समेत बताए । बैदेशिक रोजगारी क्रममा दुबई गएका उनी एक महिनाअघि झापा फर्किएर होम क्वारेन्टाइनमा थिए ।
बुधबारसम्ममा प्रदेशका विभिन्न जिल्लामा ५ सय ५५ जनाको आरडिटी गरिएको छ । हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको थियो । अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको थियो ।
प्रदेशमा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन । प्रदेशभरिमा २८४ जनाको स्वाबको नमूना सङ्कलन भएकामा १८ जनाको नतिजा आज आएको हो । अरू २ सय ६६ जनाको परीक्षण नतिजा नेगेटिभ आइसकेको छ । प्रदेश नं १ सरकारले समुदायमा छिटो परीक्षणका लागि आरडिटी किट प्रयोगमा ल्याएको छ । किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ । पिसीआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ । झापामा एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते संयुक्त अरब इमिरेट्सको दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी शुरुदेखि नै होम क्वारेन्टाइनमा बसेका छन् । यस रिर्पोपछि हल्दिवारीमा कोरोना संक्रमण देखिएको हल्ला निराधार सावित भएको छ ।