कोरोना प्रभावितका लागि भियतनाममा निःशुल्क ‘राइस एटिएम’

एजेन्सी । कोरोना भाइरसका कारण प्रभावित बनेकाहरूलाई सहयोग गर्न भियतनाम निःशुल्क चामल दिने एटिएम राख्न थालिएको छ । त्यहाँको सरकारले संक्रमण थप फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्न, व्यवसायहरु बन्द गर्न र बाहिरी कामकाज समेत बन्द गर्न लगाएको छ । यस्तोमा जसको तत्काल आम्दानी छैन, उनीहरुका लागि व्यापारी र केही दाता मिलेर ‘राइस एटिएम’ स्थापना गरेका हुन् ।

भियतनाममा बुधबारसम्म २६७ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये १६९ संक्रमणबाट निको भएका छन् र कसैको मृत्यु भएको छैन् । भियतनामको यो संख्या विश्वका बाँकी देशहरु भन्दा उल्लेखनीय रुपमा कम हो । भियतनाम न्यूज एजेन्सी अनुसार राजधानी शहर हानोइमा चामलका लागि एक ठूलो ट्याङ्कीले समस्या परेका बासिन्दाको झोलामा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चामल भरिदिन्छ । स्थानिय अखबार हनोइ टाइम्सका अनुसार चामल लिनका लागि लाइनमा बसेकाले एक अर्काबाट छ फिटको दूरी कायम गर्नुपर्छ भने चामल लिनु अघि स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । ह्यूको मध्य शहरमा रहेको कलेजमा ‘राइस एटिएम’ ले एक पटकमा स्थानीयलाई २ किलो चामल दिन्छ । हो चि मिन्ह भएको ‘राइस एटिएम’ले भने सातै दिन २४ सैं घण्टा खुल्ला हुनेगर्छ । यस्तै डा नाङ शहरमा समेत अर्को सातासम्म यस्ता दुई वटा ‘राइस एटिएम’ जडान हुने बताइएको छ ।