झापा उद्योग वाणिज्य संघले बाँड्यो निःशुल्क तरकारीको बीऊ
भद्रपुर । झापा उद्योग वाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न कृषकलाई निःशुल्क रूपमा तरकारीको बीऊ विजन वितरण गरेको छ ।
संघले बन्दाबन्दीका कारण बजारमा नेपाली तरकारीको अभाव देखिन थालेपछि स्वदेशमै तरकारी उत्पादन गर्न प्रोत्साहन स्वरूप कृषकलाई निःशुल्क रूपमा तरकारीको बीऊ बिजन वितरण गरेको हो ।
भारतमा उत्पादित तरकारीमा निर्भर झापाका भद्रपुरलगायतका बजारमा भारतीय तरकारी आयात रोकिएपछि तरकारीको अभाव देखिएको छ भने मूल्य पनि आकासिएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीका कारण घरमै बस्नु पर्ने भएपछि फुर्सदमा रहेका परिवारका सदस्यलाई खेतबारीको काम गर्न प्रेरित गर्ने उद्देश्यले पनि तरकारीको बीऊ वितरण गरिएको संघका अध्यक्ष नवराज पनेरूले जानकारी दिए ।
संघले ‘जागौं युवा जागौं, खेतबारी बाँझो नराखौं’, भन्ने युवा लक्ष्यित नारासहित राष्ट्रिय उत्पादन तथा स्वाभिमान कार्यक्रमअन्तर्गत एकलाख रुपैयाँभन्दा बढीको विभिन्न आठ किसिमका तरकारीको बीऊ वितरण गर्न सुरू गरिएको संघका महासचिव पंकज शर्माले जानकारी दिए ।
भिण्डी, फर्सी, लौका, घिरौंला, बोडी, करेला, काँक्रा र लट्टेको बीऊ समावेश गरी प्याकेट बनाई वितरण गरिएको महासचिव शर्माको भनाइ छ ।
संघको कार्यालय परिसरमा आइतबार अध्यक्ष पनेरू, विशिष्ट सदस्य अजय साहेवाला, पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेले संयुक्त रूपमा बीऊविजनको प्याकेट वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
वितरित बीऊको सदुपयोग भए–नभएको संघले अनुगमन गर्ने जनाइएको छ । वितरित बीऊबाट उत्कृष्ट उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने योजना रहेको संघले जनाएको छ ।
संघले यो कार्यक्रम नमूनाका रूपमा सञ्चालन गरेको हो । झापामा कृषिको प्रचूर संभावना छ तर युवा पुस्ताको आकर्षण घट्दै जाँदा उत्पादन योग्य ठूलो क्षेत्रफल जमीन बाँझै रहेकोले कृषि बस्तु नै आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि यो कार्यक्रम ल्याइएको जनाइएको छ ।