बाचा अनुसार सरकार चलेन
सम्पादकीय
गत वर्षको निर्वाचनमा होमिदा रास्वपाले आक्रमक शैलीमा निर्वाचनमा विजयी भएर सरकारको नेतृत्व पाए नेपाली युवा युवतीलाई रोजगारका लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गर्छौ र देशभित्रै रोजगारिको सिर्जना गरेर विदेशमा रहेका नेपाली छिटोभन्दा छिटो फर्कने वातावरण बनाउने बाचा गरेको थियो । नेपाली मतदाताले विश्वास पनि गरे रास्वपाको नेतृत्वमा अपार बहुमतको सरकार पनि बनियो तर नेपाली युवा युवतीहरू वैदेशिक रोजगारीका लागि देश छोड्ने क्रम घटेको छैन ।
उनीहरू बैध बाटोमा सहज नभएपछि अबैध बाटो रोजेर घर छोड्ने गरेको देखिन्छ । अधिकाम्स नेपाली युवा युवती कामको बाहनामा दलालबाट बेचिनु पर्ने अवस्था भयावह बन्दै छ । राम्रो काम र दाम पाउने आशमा अबैध बाटो हुँदै घर छोडेर हिड्ने अधिकाम्स कामदार नेपाली नेपालदेखि गन्तव्य मुलुकसम्म पुग्दा कम्तिमा तीन पटक बिक्री हुने गरेको विभिन्न तथ्यहरूले देखाउने गरेका छन् । विपन्न परिवारका सामान्य साक्षर महिलाहरूलाई राम्रो कामको लोभ देखाएर गाउँगाउँबाट भेला गर्दै दलालहरूले भारतीय बाटो हुँदै खाडी मुलुक पठाउँदा भारत, दुबइ हुँदै जुन देशमा पठाउने हो सो देश समेत गर्दा महिला कामदार कम्तिमा तीन पटक बेचिनु परेको घटना विवरणले खुलाउने गरेको छ । भारत र दुबइ नेपाली महिला कामदार किनबेचको मूल केन्द्र बन्दै गएका छन् भने बेचिनु पर्ने बाध्यतामा परेका महिला कामदारलाई अबैध बाटो रोजेका कारण सरकारी स्तरबाट उद्धार गर्न पनि निकै कठिन बन्दै गइरहेको छ । यस्तै पुरूष कामदारको हालत पनि उस्तै छ । स्वदेशबाटै विदेश काममा जाँदा समेत भिजिट भिसा बनाएर दलालहरूले दुबइ पुर्याएर विभिन्न देशका लागि बेच्ने गरेका छन् । भारतीय बाटो रोज्नेहरू त भारतबाटै बेचिएर दुबइ हुँदै पटक पटक बेचिदा फन्दामा पर्ने अवस्था छ ।
बेचिने महिला कामदार घरेलु कामका लागि मध्य एसियादेखि युरोपियन देशसम्मनै एक देशको दलालले अर्को देशको दलाललाई बेच्ने गर्दछ । पटक पटक बिक्री हुँदा समेत महिला कामदारले बेचिएको चाल भने पाउँदैनन् । जब गन्तव्य स्थलबाट कार्यस्थलमा पाइला राख्छन् तब आफू बेचिएको प्रष्ट बुझ्छन् । आफू बेचिएर कष्ट खप्दै घर फर्किएपछि ती महिला वा पुरूष वैदेशिक रोजगारीमा जानेभन्दा आफैं दलाल भएर नेपालको एजेन्ट बन्दै विदेशतिर कामदार बेच्ने काममा लागेको भेटिन्छ । यी विभिन्न अवस्था हेर्दा नेपाली महिला कामदार सुरक्षित कामका लागि वैदेशिक रोजगारमा निकै कम पुग्ने गरेको देखिन्छ । सरकारले प्रतिबन्ध लगाएको ठाउँमा अबैध बाटो हुँदै जान तयार हुने अधिकाम्स महिला कामदार घर परिवारलाई समेत जानकारी नदिइ दलालको भरमा जाँदा सहजै बेचिने अवस्था छ ।
वैदेशिक रोजगारमा पठाउने एजेन्ट नै नरहने कानुनी व्यवस्था भए पनि गाउँगाउँमा एजेन्ट हुँ भन्दै ठग्ने गिरोह सकृय रहेको अवस्था छ । सामान्यतया वैदेशिक रोजगारमा जाने श्रमिकलाई रोजगारदाता कम्पनीले लाने ल्याउने प्रबन्ध कानूनमै किटान गरिएको छ तर, नेपालमा गाउँगाउँमा दलाल खटाएर मेनपावर कम्पनीहरूले महिलाका हकमा ४० हजारदेखि एक लाख रूपैयासम्म तथा पुरूष कामदारको हकमा ८० हजारदेखि एक लाख ५० हजारसम्म रकम अबैध तरिकाले असुली रहेको अवस्था छ ।
बिना प्रमाण असुलेको रकम मध्ये आधा रकम एजेन्टले पाउने र आधा रकम मेनपावर कम्पनी सञ्चालकले लिने गरेको अवस्था छ । दशकौंदेखि पुराना दलको नेतृत्वको सरकारकै कारण रोजगारिका लागि विदेश जानु पर्ने बाध्यता रहेको सोचिरहेका नेपाली नागरिकको मनमा चमत्कारिक आशावादी भ्रम छरेर रास्वपाले जसरी मत तान्यो त्यसैगरी सरकारका ७ महिने कार्यकालले नयाँ भनिएको रास्वपा सरकारको कार्यशैली पुरानाभन्दा नालायक बाटोतिर दौडिरहेको आभाष दिलाउन थालिसकेको छ । गरिव तथा निमुखा नागरिकको बढ्दै गइरहेको कठिनाइले सरकार नै छैन कि भन्ने प्रश्न उठ्न थालिसकेको छ । के नागरिक भेडा बाख्रा जस्तै ठानेर सरकार अगाडि बढेको हो ? हो भने गो गल्ति अविलम्व सुधारनै पर्छ ।
